काठमाडौं– १४औं महाधिवेशनका लागि सभापतिमा साझा उम्मेदवार तय गर्न भनेर सामूहिक छलफलमा जुटेका नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरु छुट्टा–छुट्टै छलफलमा जुटेका छन्।
१४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता प्रकाशमान सिंह र शेखर कोइरालासहित नेताहरु छलफलमा जुटेका थिए।
काठमाडौंको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा सामूहिक छलफलमा सहमति जुट्न नसकेपछि नेताहरु छुट्टा–छुट्टै छलफलमा जुटेका हुन्।
मंगलबारको छलफलमा वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सभापतिको उम्मेदवारीको सन्दर्भमा ललिलो हुनसक्ने संकेत गरेका छन्।
बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगै बोल्दै महामन्त्री कोइरालाले आफू र पौडेलले सहमतिका लागि लचिलो हुने भनेर प्रस्ताव गरेको बताए।
तर, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला भने आफ्नो अडानमा अडिग छन्। बैठकमा सहभागी नेताहरुले सिंह र कोइरालालाई एक–आपसमा छुट्टै छलफल गरेर भएपनि सहमतिमा आउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।