काठमाडौं– १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार तय गर्ने विषयमा नेपाली कांग्रेस संस्थापन इतर पक्षको संयुक्त बैठक जारी छ।
नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जारी बैठकमा सभापतिका २ आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले केही 'लचक' हुने संकेत गरेका छन्।
तर, नेता सिंह र शेखर कोइराला भने सभापतिको उम्मेदवारी दिने अडानमा अडिग रहेको बैठकमा सहभागी एक नेताले नेपाल लाइभलाई जानकारी दिए।
बैठकमा सहभागी ती नेताले भने, ‘प्रकाशमान र शेखर आफ्नो उम्मेदवारीका विषयमा अडिग नै रहनुभएको छ।'
उनका अनुसार छलफलमा सभापतिमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र शंशाक कोइराला भने आफ्नो अडानमा केही लचक देखिएका छन्।
बैठकमा सहभागी नेताहरुले सिंह र कोइरालाई आपसमा सल्लाह गरेर एकले अर्कालाई सघाउन आग्रह गरेका छन्।
संस्थापन पक्षबाट १४ औं महाधिवेशनका लागि सभापतिमा शेरबहादुर देउवा एकल उम्मेदवारका रुपमा देखिए पनि इतर समूहले भने अहिलेसम्म साझा उम्मेदवार घोषणा गर्न सकेको छैन।
कांग्रेसको १४औं महाधिवेशन यही मंसीर २४ गते काठमाडौंमा सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।