काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरसँगै गायव भएको ३३ सुन तस्करी काण्डमा मुछिएका कृष्णगोपाल अग्रवाललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।
सोमबार न्यायाधीश भरत लम्सालको इजलासले अग्रवाललाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सुन काण्डमा जोडिएर फरार भएपछि इन्टरपोलबाट उनी विरुद्ध रेड नोटिस जारी भएको थियो। झापाको साविक शिवगञ्ज गाविस–१ ठेगाना भएका ५० वर्षीय अग्रवाललाई इन्टरपोलको सहयोगमा दुबईबाट काठमाडौं ल्याइएको थियो।
मोरङ जिल्ला अदालतबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि इन्टरपोल महासचिवालयबाट 'रेड नोटिस' जारी भएको थियो। दुबईबाट काठमाडौं ल्याइएपछि उनलाई मोरङ पठाइएको थियो।
सुनको अवैध चोरीपैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोप अग्रवालमाथि छ।
उनी सञ्जिव शाक्यको जाहेरीमा ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका गोरे भन्ने चुडामणि उप्रेतीसमेतको आपराधिक समूह स्थापना र सञ्जालका एक सदस्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।