काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापाले कांग्रेस ९ लाख कार्यकर्ताभन्दा परसम्म पुग्नुपर्ने बताएका छन्। मंगलबार शंकर तिवारीद्वारा लिखित 'कसले सुधार्छ कांग्रेस?' पुस्तकको विमोचन कार्यक्रममा थापाले महाधिवेशनपछि कहिल्यै 'जय नेपाल' नभनेका १५ लाख मानिसलाई कांग्रेससँग जोड्नुपर्ने बताए।
'अहिले ९ लाखबाट छानिएर ५ हजार मानिस भृकुटीमण्डपमा जम्मा हुन्छौं। पार्टीको नेतृत्व छान्छौं। जुन दाइ, भाइ र दिदीलाई छानिदिए पनि हुन्छ। पार्टी यही नौ लाख मानिससँग मात्रै जोडिएको छ भन्ने ठान्ने हो भने जसलाई छानिदिए पनि हुन्छ', उनले भने, 'पार्टी भनेको ९ लाख मान्छेभन्दा धेरै पर छ। चुनावकै गणितले हेर्ने हो भने पनि महाधिवेशनपछि कहिल्यै कांग्रेस नभएको, सदस्यता कहिल्यै नलिएको, जय नेपाल कहिल्यै नभनेको, रुख चिह्नमा कहिल्यै मत नहालेको नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्छ।'
उनले त्यो १५ लाख मान्छे कांग्रेससँग किन जोडिने? भन्ने प्रश्न गरे। 'हाम्रो 'म्यासेज' पनि चाहिन्छ, 'मेसेन्जर' पनि चाहिन्छ। बाहिरको १५ लाखलाई पनि हाम्रो 'मेसेन्जर' देख्दा हात उठोस्। जय नेपाल भन्न लागोस्। उसलाई नेपाली कांग्रेससँग जोडिन मन लागोस्। त्यसमा गौरव लागोस्,' थापाले भने।
थापाले नेपाली कांग्रेसलाई मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने कुराको आवश्यकताको बोध गराउन सके आफूहरु यसै विजयी हुने, नभए नहुने बताए। 'हामी अहिले मञ्चमा उभिएर चुनाव जित्नुपर्छ भनिरहेका हुन्छौं। हाम्रो पार्टीको ९ लाख कार्यकर्तालाई थाहा छ, चुनाव जित्नुपर्छ भनेर। तर, तलको एउटा नागरिकलाई लाग्छ, कांग्रेसले किन जित्नुपर्छ? जित्यो भने के हुन्छ, जितेन भने के हुन्छ? उसले के कुरा गुमाउँछ? हामी अगाडिको सबैभन्दा ठूलो प्रश्न यही हो भन्ने लाग्छ,' थापाले भने।
उनले कुनै नागरिकले 'लिबरल आइडिया'हरुमा विश्वास गर्छ र त्यसमा जोडिन्छ भने नेपाली कांग्रेस त्यसको प्रतिनिधि भएको बताए। 'त्यस्तो सोच राख्नेहरुले नेपाली कांग्रेस कमजोर भयो भने त्यो विचार कमजोर हुन्छ भनेर स्थापित गर्न सक्यो भने पो कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा सँगसँगै जोडिएर आउँछ', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।