काठमाडौं- ललितपुरको प्रहरी हिरासतमा मृत्यु भएका दुर्गेश यादवको परिवारले आफूहरुले दिएको जाहेरीमा अनुसन्धान नगर्ने भनी गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
यादवका बुबा सुधाराम यादवले मङ्गलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उक्त निवेदनमा सर्वोच्चले २३ गते पहिलो सुनुवाइको पेसी तोकेको छ।
जबरजस्ती करणीको आरोपमा पक्राउ परेका यादवले २०७७ असार २८ गते प्रहरी हिरासतमा आत्महत्या गरेको प्रहरीले दाबी गरेको थियो। सप्तरीको सिराहा नगरपालिका-७ का दुर्गेशले ललितपुर प्रहरी परिसरस्थित शौचालयको झ्यालको रडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको प्रहरीको दाबी थियो। तर, परिवारका सदस्यहरुले उक्त कुरा झुटो भएकाले ड्युटीमा रहेका प्रहरी र जाहेरी दिने युवतीमाथि छानविनको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए। तर, प्रहरीले उक्त जाहेरीअनुसार थप अनुसन्धान गरी मुद्दा चलाउन नसक्ने निर्णय गरेपछि परिवारका सदस्य सर्वोच्च पुगेका हुन्।
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ८ मा अनुसन्धान अधिकारीले मुद्दा नचलाउने निर्णय गर्दा आधार र कारण दिनुपर्ने तर विपक्षी महानगरीय प्रहरी परिसर जावलाखेलले कुनै आधार र कारण नखुलाइ केवल जाहेरी दरखास्त भ्रमपूर्ण, कपोलकल्पित छ भनी न्याय पाउने संवैधानिक हकबाट वञ्चित गरेको दाबी परिवारले गरेका छन्।
‘अहिलेसम्म पनि आफ्नो छोराको कसरी मृत्यु भयो या हत्या गरियो केही थाहा हुन सकेको छैन,’ उनको निवेदनमा भनिएको छ, ‘म पीडितको संवैधानिक आधिकारलाई ध्यानमा राखी सर्वोच्च अदालत नियमावली, २०७४ को धारा ४९ बमोजिम अन्तरिम आदेश जारी गरी जाहेरी दर्ता गरेर अनुसन्धान गर्नू भनी आदेश जारी गरिपाऊँ।’
संविधान र कानुनप्रदत्त हक अधिकारको संरक्षणका लागि नेपालको प्रचलित कानुनबमोजिम विपक्षी महानगरीय प्रहरीपरिसर जावलाखेल, ललितपुरको नाउँमा परमादेश जारी हुने निवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।