काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाएको दाबी गरेका हुन्।
आफूले नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्याउने चाहना राखेको उनले बताए। अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्नेमा जोड दिए।
‘राष्ट्रिय ध्वजावाहक यो जहाजमा नेपाली जनताले तिरेको राजस्व, कर परेको छ। यसलाई कुनै पनि हालतमा माथि उठाउनैपर्छ,' उनले भने।
मन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गरे। खतराजन्य पदार्थ आयात-निर्यातमा अब व्यवसायीहरुलाई झण्झट नहुने र नाफा हुने उनले बताए।
‘यहाँको स्थानीय लेभलमा यहाँका व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झण्झट हुन्थ्यो। सामान ल्याउँदा कम्तीमा अब डाइरेक्ट आउनसक्ने भयो। त्यो पनि एउटा उपलब्धि हो। अर्को कुरा जुन सामानहरु हामी बाहिरबाट क्यारी गर्छौं। त्यो भन्दा दुई गुणा, तीन गुणा बढी हामीले पाउने भयो। जुन-जुन फ्लाइटमा यात्रु नभएको अवस्थामा पनि डेन्जरस् गुड क्यारी गरेर हामी यहाँ ल्याउँछौं, यसले नाफा दिन्छ,’ मन्त्री आलेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।