काठमाडौं– बागमती प्रदेश अधिवेशनमा कांग्रेस सभापतिका उम्मेदवार भीमसेनदास प्रधान खुलेर इन्द्र बानियाँको पक्षमा लागेका छन्।
तेस्रो स्थानको मत ल्याएका प्रधानले बानियाँको पक्षमा मत मागेपछि उनको जित सहज हुने आकलन गरिएको छ। महामन्त्री डा प्रकाशशरण महत र बानियाँलाई साथमा राखेर प्रधानले भने, ‘उहाँ (बानियाँ) लाई मत दिन आग्रह गर्दछु। जुझारु सशक्त नेता उहाँलाई जिताऔं।’
तेस्रो धारका नेतृत्व गर्दै आएका नेता कृष्ण सिटौला पक्षले बानियाँको पक्षमा मत दिने भएपछि बागमतीमा पनि देउवा–सिटौला गठबन्धन भएको छ। सभापतिका तीन जना उम्मेदवारमा कुनैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ।
पहिलो स्थानमा बानियाँले ९९२ मत ल्याउँदा दोस्रो स्थानको मत ल्याएको पौडेल पक्षका उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका थिए। प्रधानले १९७ मत ल्याएका थिए।
दोस्रो चरणको मतदान प्रक्रिया भने सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।