काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन काठमाडौंमा जारी रहेको छ। बुधबार उद्घाटन भएको राप्रपाको महाधिवेशनमा बिहीबार तीन अध्यक्षले पेस गरेको विभिन्न प्रतिवेदनहरु पारित भएका छन्।
महाधिवेशन अब नयाँ नेतृत्व चयनमा प्रवेश गरेको छ। राप्रपा अध्यक्षमा अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। शुक्रबार उनीहरुले राष्ट्रिय सभागृहमा दलबलसहित पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराए।
उम्मेदवारी दर्ता गराएसँगै राप्रपामा चुनावी माहोल छाएको छ। उम्मेदवारहरुलाई मत माग्दै प्रतिनिधिहरुलाई प्रचार सामाग्रीहरु वितरण गरिएको छ।
यस्तै उपाध्यक्षमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, विक्रम पाण्डे, जगत प्रसाद गौचन, दिलविकास राजभण्डारी, दुर्गा श्रेष्ठ, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान गरी ९ जनाको उम्मेदवारी परेको छ।
महामन्त्रीमा डा धवल शमशेर राणा,भुवन पाठक,रेखा थापा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, श्याम तिमल्सिनाको उम्मेदवारी परेको छ। निर्वाचनमा थापा र लिङ्देन प्यानलसहित मैदानमा उत्रिएका छन्।
बिहीबार ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित भएको थियो भने शुक्रबार उक्त सूचीमा २३५ मनोनित थपिएका छन्।
यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन्। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।