काठमाडौं- उत्तर कोरियाली शासक किम जोङ उनले देशको प्रगतिका लागि अर्को वर्ष 'भीषण संघर्ष' को तयारी गर्नुपर्ने बताएका छन्। उनले रक्षा, कृषि र पूर्वाधारको क्षेत्रमा प्रगति गर्न 'संघर्ष'का लागि देश तयार रहनुपर्ने बताएका हुन्।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार बुधबार किमले सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकमा यस्तो बताएका हुन्। पोलिटब्यूरो बैठकले अर्को महिनाका लागि पार्टीको केन्द्रीय कमिटी बैठक तय गरेको छ।
बैठकमा किमले देशले आर्थिक समस्याको सामना गरिरहेको बेलामा पार्टीको नीतिगत लक्ष्य पूरा गर्न र पञ्चवर्षीय आर्थिक योजना लागू गर्न सफलता पाएको बताएको केसीएनएले जनाएको छ। जसलाई किमले यस वर्षको सुरुआतमा सार्वजनिक गरेका थिए।
'देशको अर्थतन्त्रको स्थिर व्यवस्थापन, कृषि तथा भौतिक निर्माणका क्षेत्रमा ठूला सफलतासँगै राजनीति, अर्थतन्त्र, संस्कृति, राष्ट्रिय सुरक्षा लगायत राज्यका समग्र मामिलामा सकारात्मक परिवर्तन देखिनु उत्साहजनक छ,' नेता किमले बैठकमा भनेका छन्। उनले भने, 'अर्को वर्ष महत्वपूर्ण हुनेछ, किनकी हामीले भीषण संघर्ष गर्न आवश्यक छ।'
किमले आफ्नो योजनाका साथ अर्थव्यवस्था र विद्युत आपूर्तिलाई बढावा दिने योजना अघि सारेका छन्। तर, संयुक्त राष्ट्र संघले उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रम, कोभिड-१९ महामारी र प्राकृतिक विपदका कारण लगाएको प्रतिबन्धका कारण खाद्यान्न र बिजुलीको अभाव उत्पन्न भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
उत्तर कोरियाले अहिलेसम्म कसैमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छैन। तर, सीमानाकाहरु बन्द गरेको छ र घरेलु यात्रा प्रतिबन्ध र अन्य सुरक्षाका उपायहरु लागू गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।