काठमाडौं– नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ। अधिवेशनमा हुने निर्वाचनका लागि संस्थापनइतरले लुम्बिनीमा उम्मेदवारको टुंगो लगाएको छ।
संस्थापन इतरले लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन(रोल्पा)लाई अधि सारेको छ। त्यसैगरी, उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी), अष्टभुजा पाठक (रुपन्देही)लाई उठाउने संस्थापन इतरको तयारी छ।
प्रदेशको महामन्त्रीमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु)लाई अगाडि सारेको संस्थापनले सहमहामन्त्री खगराज पाण्डे(दाङ) र विष्णु मुस्कान(अर्घाखाँची) तथा महिलातर्फ निमा गिरी(प्युठान)लाई उम्मेदवार बनाउने भएको छ।
प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ। चुनाव आगामी शनिबार हुनेछ।
प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनस् मतदान गर्नुपर्ने व्यवस्था छ। प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।