काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष/महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन्।
भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्षबारे जानकारी गराएका थिए। सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए।
सदस्य–सचिव र विभागीय प्रमुखको बैठक
राखेप का नवनियुक्त सदस्य सचिव घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसँग बुधबार छलफल गरेका छन्।
सदस्य सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो।
बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख बज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाका बारेमा जानकारी गराएका थिए।
उक्त अवसरमा प्रशासनिक र प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयमा सदस्य सचिव घिसिङलाई जानकारी गराइएको थियो।
बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले परिषद्मा रहेको विभिन्न प्रकार समस्यालाई हल गर्दै अगाडि बढ्ने बताउँदै खेलकुद क्षेत्रलाई अझ गतिशिल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए। उनले क्रमैसँग बाँकी शाखा र विभागका प्रमुखसँग पनि छलफल गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।