काठमाडौं– चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पौष दोस्रो सातादेखि हुने भएको छ।
नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा हुने प्रतियोगिता आगामी पौष महिनाको १३ देखि १७ गतेसम्म बागमती प्रदेशको राजधानी हेटौँडामा हुन लागेको हो।
प्रतियोगितामा ६ प्रदेशका टोलीहरुसहित एक विभागिय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने भएका छन्। जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहका अनुसार शनिबार संघको बैठक बसेर प्रतियोगिताको तयारीको सुरुवात हुने छ।
स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो।
त्यस्तै, गत माघमा सुदुरपश्चिम प्रदेशको महेन्द्र नगरमा भएको तेस्रो संस्करणको उपाधि विभागिय टोली नेपाल आर्मीले जितेको थियो।
प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।