काठमाडौं– दक्षिण कोरियाकी एक नाबालिक किशोरीविरूद्ध यौन हिंसा र बलात्कार गरेको आरोपमा नेपालीसहित ६९ विदेशी विद्यार्थीलाई पक्राउ परेका छन्।
ग्याङ्वोन प्रान्तीय प्रहरीका अनुसार गत डिसेम्बरदेखि करिब १०० पटक माध्यमिक विद्यालयकी किशोरी बलात्कार गरेको आरोपमा उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो। बलात्कारको आरोप लाग्ने विदेशी विद्यार्थी नेपाल र बंगलादेशका हुन्।
उनीहरु सोही प्रान्तको विश्वविद्यालयमा अध्ययनरत रहेको बताइएको छ। प्रहरीले पक्राउ परेका ती विधार्थीसँग सोधपुछ गरिसकेको छ।
प्रहरीका अनुसार उनीहरुले पीडित किशोरीलाई सामाजिक सञ्जालमार्फत् खाना र बाहिर घुम्न जाने प्रलोभन दिएर घर बोलाएको अनुसन्धानबाट खुलेको छ।
कोरियाको कानूनअनुसार १६ वर्षभन्दा मुनीको व्यक्तिलाई किशोरीको रूपमा ब्याख्या गरिएको छ। र, यो उमेर समूहका किशोरीसँग कुनै पनि यौनजन्य गतिविधिमा संलग्न पाइएको खण्डमा, त्यसलाई बाल हिंसाको रूपमा ब्याख्या गरिएको छ।
पीडितले अगस्टको सुरुमा आफ्नो विद्यालका शिक्षकसँग आफू बलात्कार भइरहेको खुलासा गरेकी थिइन्। त्यसपछि प्रहरीमा उजुरी परेको थियो।
प्रहरीले पक्राउ परेका ६९ जना विधार्थीलाई विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। उनीहरूविरूद्ध अनुसन्धान जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।