काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत पहिलो खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले ब्रिगेड ब्वाइज क्लबसँग ३–२ र दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–० गोलको हार बेहोर्यो। लगातारको हारपछि प्रशिक्षक कुमार थापाले भने, ‘हामीले सानो टिमसँगै हार्दा ६ अंक होइन १२ अंक गुमाएजस्तो लागेको छ। विदेशी खेलाडीलाई मैदान उतार्न नपाउँदा खेल्न गाह्रो भयो।’
त्यसअघि जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेपछि नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले पनि विदेशी खेलाडी खेलाउन नपाउँदा कमजोर भएको आशय प्रकट गरेका थिए। उनले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘विदेशी खेलाडी नहुँदा राम्रो प्रदर्शन भएन। विभागीय टोलीले विदेशी खेलाडी राख्न पाए लिगको सबैभन्दा ठूलो दाबेदार हुने थियौँ।’
नेपाली लिगमा विदेशी खेलाडीको महत्व बुझ्न यी दुई प्रशिक्षकको भनाई काफी छन्। उनीहरूले भनेजस्तै, एक दशकअघिदेखि नेपाली फुटबल प्रतियोगितामा सहभागी हुन थालेका अफ्रिकी मूलका खेलाडीले अधिकांश क्लबको हार-जितमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
उनीहरूकै प्रदर्शनमा क्लबहरू ‘ए’ डिभिजनमा टिकिरहने वा घटुवा/बढुवा हुने गरेका छन्। त्यसैले पनि महँगा नेपाली खेलाडीमा भन्दा विदेशी खेलाडीमा क्लबहरूको ध्यान जानु स्वाभाविक भएको न्यूरोड टिम (एनआरटी)का प्रशिक्षक राजुकाजी शाक्य बताउँछन्।
‘विदेशी खेलाडी नेपाली लिगमा हाबी भएको अहिले मात्रै होइन। नेपालमा सञ्चालन हुने ठूला प्रतियोगितामा उनीहरुको उपस्थिति बलियो छ। केही समयअगाडि भएको नेपाल सुपर लिगकै कुरा गर्ने हो भने पनि हाइ स्कोरर विदेशी खेलाडी नै थिए,’ उनी भन्छन्।
गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा क्यामरुनका मेसुके ओलुमेले सर्वाधिक आठ गोल गरेका थिए। यति मात्रै होइन, काठमाडौं रेजर्सलाई उनले आफ्नो एकल प्रदर्शनमै उपाधि दिलाइदिए।
त्यसपछि उनको लोकप्रितयता धेरै नै चुलियो। उनी अहिले एनआरटीमा आबद्ध छन्। जारी ‘ए’ डिभिजन लिगमा पनि उनीसहित ३२ विदेशी खेलाडी ११ क्लबबाट खेलिरहेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै पनि क्लबले तीन विदेशी खेलाडीलाई खेलाउन पाउने प्रावधान बनाएको छ। अझ, दक्षिण एसियाली मुलुकका खेलाडी भए थप एक विदेशी खेलाडीलाई मैदानमा उतार्न पाइन्छ।
उक्त प्रावधान अनुरुप क्लबहरू विदेशी खेलाडीतर्फ आकर्षित भएका छन्। मनाङ मर्स्याङ्दी, च्यासल युथ र सातदोबाटोले ४/४ खेलाडी भित्र्याएका छन्। मच्छिन्द्र, एनआरटी, ब्रिगेड बोइज, जावलाखेल युथ र हिमालयन शेर्पा क्लबले ३/३ खेलाडी भित्र्याएका छन्। अधिकांश अफ्रिकन खेलाडी छन्।
‘अफ्रिकन खेलाडी फिजिकल्ली बलिया छन् र राम्रो खेल खेल्छन्। लगानी पनि धेरै गर्नु पर्दैन। युरोपलगायत अन्य देशका खेलाडीको खेल्ने शैली फरक हुँदा उनीहरुको खेल नेपाली खेलाडीसँग मिल्दैन,’ शाक्य भन्छन्।
विसं २०२० को दशकमा ‘नेपाली फुटबलका पिता’ भनिने नरशमशेरले कोलकाताबाट भारतीय खेलाडी ल्याएर खेलाउने गर्दथे। ‘ए’ डिभिजन लिग निर्देशक सन्जीव मिश्रका अनुसार भारतीय फुटबलको ‘पावर हाउस’ कोलकाताका इस्ट बंगाल, मोहन बगान आदि क्लबका खेलाडी राणा खलकको निम्तोमा सिँहदरबार परिसरमा रहेको मैदानमा हुने प्रतियोगिता खेल्न आउँथे। त्यतिबेला नेपालमा खेलाडी अनुबन्धको प्रावधान नरहेकाले विदेशी खेलाडी प्रतिखेलका हिसाबले पारिश्रमिक बुझ्थे।
त्यसपछि बिस्तारै नेपाली फुटबलले ‘पिक’ गर्न थाल्यो। केही भारतीय खेलाडीसमेत कम रकममा नेपालमा आएर फुटबल खेल्न थाले। त्यसपछि भारतीय मात्रै होइन यूरोपेली देशका खेलाडीसमेत नेपाली लिगमा आबद्ध भए।
एनआरटीले २०३० को दशकमा जर्मन खेलाडी ल्याएको थियो। त्यसबेला ट्रान्सफर विन्डो र अन्तर्राष्ट्रिय ट्रान्सफर सर्टिफिकेट (आईटीसी)लगायत कागजपत्र आवश्यक नपर्ने हुनाले प्रक्रिया सहज थियो।
फितलो प्रावधानका कारण विसं २०४० को दशकमा भारतीय स्टार श्याम थापालगायत खेलाडीले ब्वाइज युनियनबाट खेले। भुटानका खरे बस्नेतको लोकप्रियता पनि नेपाली दर्शकमाझ उस्तै थियो।
२०५४ सालमा थ्रीस्टारले लिग उपाधि जित्दा भुटानकै क्रिस्पिन क्षेत्री र जितेन राई टोलीका महत्वपूर्ण खेलाडी थिए। त्यसपछि नेपाली लिगमा विदेशी खेलाडीको महत्व अन्य क्लबले पनि बुझ्न थाले।
‘तर, त्यस समय भने लिग फुटबल नियमित हुँदैन थियो। लिग ३/४ वर्षमा एकपटक मात्रै हुन्थ्यो। त्यही पनि विदेशी खेलाडीको आकर्षण नेपाली क्लबमा उस्तै रह्यो, जुन अहिले देखिन्छ,’ मिश्र भन्छन्।
आफूले ल्याएको विदेशी खेलाडीमाथि अन्य क्लबले आँखा लगाउन थालेपछि २०५७ मा काठमाडौं क्लबले स्वयंसेवक प्रशिक्षकको रुपमा सम्झौता गरेरै अर्जेन्टिनाका रोडोल्फो टोरेसलाई नेपाल ल्यायो। उनीसँगै आए, अमेरिकी खेलाडी केनेथ विलियम्स।
टोरेसलाई राखेप र एन्फामा दर्ता गराएर उक्त क्लबले भित्र्याएको थियो। २०६० सालमा त्यसै क्लबले विलियम्स र २०६१ सालमा अमेरिकी गोलरक्षक वालेस ज्याक्सनलाई अनुबन्ध गर्यो। त्यसपछि एन्फा र राखेपबाट नियमन गरेर खेलाडी अनुबन्ध प्रक्रिया सुरु भयो। त्यसपछि नेपालमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्लब पनि बढ्न थाल्यो।
लिग फुटबल नियमित हुन थालेपछि अफ्रिकी खेलाडीको संख्या बढ्दै गयो। विशेषगरी क्लबहरुले ‘फरवार्ड’ र ‘डिफेन्स’मा अफ्रिकी मुलका खेलाडी खेलाउन थाले। ‘हामीले अन्य देशका खेलाडी नखेलाएका होइनौँ, युरोप र जापानका खेलाडीले पनि लिग खेले। उनीहरु फिट रहन खानाहरुमा ध्यान दिन्छन्,’ शाक्य भन्छन्, ‘तर, अफ्रिकनहरू जे पनि खाने भएका कारण नेपाली बसाइ सस्तो हुन्छ। त्यसैले त्योबेला उनीहरुको आगमन बाक्लो भएको हो।’
अहिले विदेशी खेलाडीहरुको मूल्य भने महङ्गिदै गएको छ। एन्फानिकट रहेर क्लब चलाउने केही पदाधिकारीका अनुसार औसतमा प्रतिअफ्रिकी खेलाडी प्रतिमहिना १५ सयदेखि दुई हजार डलर खर्च गर्नुपर्छ। भिसा प्रक्रिया र उनीहरूको श्रम स्वीकृति लिन लाग्ने खर्च पनि जोड्ने हो भने यो रकम अझ बढ्छ।
ती पदाधिकारीका अनुसार तीन जना अफ्रिकी खेलाडीको श्रम स्वीकृति र भिसा खर्च नै ७ लाख रुपैयाँ हाराहारी हुन आउँछ। तर, नेपाली खेलाडीले भने औसतमा ८० हजार पाउँछन्। ‘एनएसएलकै कुरा गर्ने हो भने विराटनगर सिटी एफसीले पेट्रो मान्जीलाई महंगो रकम खर्च गरेको सुनेको थिएँ। उनलाई खर्च गर्ने रकमले नेपालको एउटा क्लबले टिम नै बनाउन पुग्थ्यो भन्ने हल्लासमेत थियो,’ ती पदाधिकारी भन्छन्।
यसरी महंगो रकम खर्च गरेर ल्याएका खेलाडीहरू नेपाली लिगमा दिलोज्यान दिएर खेल्न थालेका छन् भने नेपाली खेलाडीको प्रदर्शन भने फिक्का भइरहेको छ। विभागीय टोलीभन्दा अन्य क्लबका खेलाडी शारीरिक रूपमा कमजोर देखिन्छन्।
तर, अहिले लिगमा कडा प्रतिस्पर्धा भइरहेको र पुराना भरपर्दा खेलाडीसमेत ‘रिटायर्ड’ भएका कारण विभागीय टोलीलाई अप्ठ्यारो भइरहेको पुलिसका प्रशिक्षक थापा बताउँछन्। ‘टोलीमा अहिले सबै युवा खेलाडी छन्। उनीहरुले त्यति मौका पाएका छैनन्। त्यसैले तीन विदेशी खेलाडी खेलाउन पाउँदा हामी नै लिगमा सबैभन्दा ठूलो दाबेदार हुन्छौं जस्तो लाग्छ,’ उनले भने।
नेपाली खेलाडीले बढी मौका नपाउनुको पछाडि नेपालमा खेलाडी उत्पादन नै कम हुनु हो। क्लबहरूसँग खेलाडी भए पनि प्रशिक्षण गर्ने मैदान छैन। तीन विभागीय टोलीले ११ महिना नै प्रशिक्षण गरिरहेका हुन्छन्। उनीहरू फाट्टफुट्ट हुने मोफसलका प्रतियोगिता खेलिरहेका हुन्छन्। यसरी खेलिने कतिपय प्रतियोगिता नेपालका शीर्ष क्लबलाई सुहाउँदो हुँदैन। त्यसैले उनीहरु प्रतियोगिताको स्तर हेरेर मात्रै खेलाडी मैदान उतार्छन्।
‘विभागीय टोलीमा जस्तो नियमित प्रशिक्षण गर्ने खेलाडी क्लबमा निकै कम हुन्छन्। हाम्रै क्लब (एनआरटी) हेर्ने हो भने आफ्नै मैदान छैन। एकै मैदानमा तीन क्लबका खेलाडी प्रशिक्षण गर्छौं। त्यसैले हामीकहाँ प्रतिभा जन्मिने क्रम निकै कम छ। तर, विभागीय टोलीमा भने त्यस्तो हुन नपर्ने हो,’ आर्मीका प्रशिक्षण सम्हालिसकेका शाक्य भन्छन्।
एपीएफका प्रशिक्षक थापा भने उनको कुरामा सहमत छैनन्। खेलाडीहरूलाई १२ महिना नै प्रशिक्षण गराउँदा पनि आफ्नो टोलीको प्रदर्शनमा सुधार हुन नसकेको उनी बताउँछन्। ‘मासिक २ लाख तलब खाने खेलाडी र प्रहरी जवानको तलबमा खेल्ने खेलाडीको तुलना हुँदैन,’ उनी भन्छन्, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेल गुमाएका हौं। क्लब लाइसेन्स पाएपछि अरु विभागीय टिमले विदेशी खेलाडी नल्याएपछि हामीले पनि त्यसलाई फलो गर्यौं। तर, त्यसलाई अब ओपन हुनपर्छ, विभागीय खेलाडीले मात्रै पनि धान्न गाह्रो छ।’
तीन विभागीय टोलीमध्ये त्रिभुवन आर्मी र एपीएफले एएफसी क्लब लाइसेन्स प्राप्त गरिसकेका छन्। जसले गर्दा विदेशी खेलाडी राख्ने बाटो खुलिसकेको छ। विश्वका नाम चलेका फुटबल लिगलाई हेर्ने हो भने पनि विदेशी खेलाडीले नै बढी योगदान गर्छन्। तर, आर्मीका प्रशिक्षक नवीन न्यौपाने भने नेपाली प्रतियोगिताका लागि आफ्ना खेलाडी नै बलियो रहेको दाबी गर्छन्।
‘जारी प्रतियोगिताका लागि हाम्रो खेलाडीको स्तर राम्रो छ। तर, केही खेलाडी घाइते भएका कारण आर्मी पछाडि देखिएको हो,’ उनी भन्छन्, ‘एएफसी प्रेसिडेन्ट कप जस्ता टप प्रतियोगिता खेल्दा भने हामीलाई विदेशी खेलाडी भइदिएको भए राम्रो हुन्थ्यो भन्ने लागेको थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।