काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका शान्त नबस्ने चेतावनी दिएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एक थिंक ट्यांकलाई दिएको एक भर्चुअल भाषणमा भने, 'ताइवान मा आपतकाल, जापानको पनि आपतकाल हो र यसकारण जापान अमेरिका गठबन्धनका लागि संकटकाल जस्तो हुने छ। चीनका मानिस खास गरेर राष्ट्रपति सी चिनफिङले पनि स्पष्ट हुनु पर्छ कि जापान र अमेरिकाले ताइवानलाई साथ दिनेछन्।'
गत वर्ष प्रधानमन्त्रीको पद छाडेका आबे जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको सबै भन्दा ठूलो गुटका प्रमुख हुन् र उनलाई पार्टीमा निकै प्रभावशाली मानिन्छ।
ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्छ तर चीनले भने उसलाई आफ्नो प्रान्त भएको बताउने गरेको छ।
१९४० को युद्धका क्रममा चीन र ताइवान विभाजित भएका थिए तर बेजिङले उक्त द्वीपलाई प्राप्त गर्न जस्तो सुकै शक्ति प्रयोग गर्न पछि नपर्ने जनाएको छ।
ताइवानमा आफ्नो संविधान र लोकतान्त्रिक रुपमा चुनिएका नेता हुन्छन्। ताइवानसँग तीन लाख सैनिक छन्। तर, फेरिपनि केही देशले मात्र ताइवानलाई मान्यता दिएका छन्। धेरै देशले चीन सरकारलाई नै मान्यता दिएका छन्।
पछिल्लो समय चीन र ताइवानबीचमा तनाव बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।