काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सदस्यसचिवमा नियुक्त भएका घिसिङलाई मंगलबार (आज) युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शपथ गराएका हुन्।
शपथ लिएसँगै सदस्यसचिव घिसिङले त्रिपुरेश्वरस्थित राखेपको कार्यालयमा पुगेर आजै पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै घिसिङले राष्ट्रिय खेलाडीको बिमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताए। उनले राष्ट्रिय टोलीको सुधारमा विशेष जोड दिँदै अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न योग्य बनाउने योजना रहेको बताए।
नवनियुक्त सदस्य सचिवलाई शपथ ग्रहण गराएपछि बोल्दै मन्त्री गहतराजले नेतृत्व पाएपछि राखेपले चलायमान हुन नसकेका खेलकुद गतिविधि जेट विमानजस्तै रफ्तारमा अगाडि बढाउने विश्वास व्यक्त गरे।

पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीसँग बोल्दै सदस्यसचिव घिसिङले थलिएको खेलकुद गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनले राष्ट्रिय टिम तयारी र आवश्यक छनोट प्रक्रियालाई आगाडि बढाउने तथा तल्लो तहदेखि नै खेलकुद विकासमा जोड दिने बताए। परिषद्मा रहेको चुनौतीलाई अवसरमा बदल्दै आफूले पेस गरेका योजना कार्यान्वयन गर्न जोड दिएर खेलकुद विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।