सौराहा– नेकपा एमालेको १०औं महाधिवेशनमा सचिवका प्रत्यासी भीम आचार्य र टंक कार्की पराजित भएका छन्।
आचार्यले १३०० र कार्कीले सबैभन्दा कम ५०० मत पाए। टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल भने सचिवमा निर्वाचित भएका छन्। यद्पि, औपचारिक घोषणा हुन भने बाँकी छ।
सचिवमा सबैभन्दा धेरै गोकर्ण विष्टले १९७६ मत पाएका छन्। त्यसपछि योगेश भट्टराईले १९६४ मत प्राप्त गरेका छन्।
यस्तै, छविलाल विश्वकर्मा र पद्मा अर्यालले १८००/१८०० मत पाउँदा लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत पाएका छन्।
पराजति आचार्य एमालेको नवौं महाधिवेशनमा सचिव निर्वाचित भएका थिए। एमालेमा उनी लामो समय माधव नेपाल–झलनाथ खनाल समूहमा थिए। तर, एमाले विभाजन हुँदा उनी १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए।
सचिवमा पराजित भएका कार्की पूर्वराजदूत समेत हुन्। निर्वाचित हुने रायमाझी र भट्ट पूर्वमाओवादी नेता हुन्। योगेश र गोकर्ण अघिल्लो महाधिवेशनमा पनि सचिव निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।