काठमाडौं- देशभर जाडो बढ्न थाल्दा संघीय राजधानी काठमाडौं पनि चिसो छ। यही चिसोमा बाँकेबाट न्याय खोज्दै काठमाडौं आइपुगेका रुबी खान र उनका साथीहरु माइतीघर मन्डलछेउमा धर्ना बसिरहेका छन्।
धर्नास्थलमा रुख र पोलको साहारामा एउटा ब्यानर टाँगिएको छ। ब्यानरमा ‘न्यायको लागि गुहार’ लेखिएको छ। त्यसभन्दा तल लेखिएको छ- ‘विधवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान गरी हत्या तथा घरेलु हिंसापिडित महिला नन्कुन्नी हत्याको न्याय देऊ सरकार।’
रुबी र उनका साथीहरुको काठमाडौं आगमन पहिलो होइन। अघिल्लो पटक उनीहरुले बाँकेदेखि काठमाडौंसम्मको ५२० किलोमिटर पैदल नै यात्रा गरेका थिए। सो दूरी पार गर्न उनीहरुलाई २० दिन लागेको थियो।
असोज १ मा बाँकेबाट हिँडेका उनीहरु असोज २० मा काठमाडौं आइपुगेका थिए। त्यसअघि रुबी बाँके जिल्ला प्रशासन कार्यालयअघि १२ दिन अनसन बसेकी थिइन्। तर, सरकारले माग नसुनेपछि उनीहरू काठमाडौं आएका थिए। रुबी र उनका साथीहरूले नन्कुन्नी धोबी मृत्यु तथा निर्मला कुर्मीको अपहरणपछि हत्या गरिएको दाबी गर्दै घटनाको छानविन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्।
त्यतिबेला काठमाडौं आएको तेस्रो दिन असोज २२ मा प्रहरीले रुबी खानलाई पक्राउ गरेको थियो। उनलाई बहुविवाह मुद्दामा पक्राउ गरेर बाँके पुर्यायो। तर, उनको साउन १८ मा नै सम्बन्ध विच्छेद भइसकेको थियो। आफैँले सम्बन्ध विच्छेद प्रमाणीकरण गरेको भए पनि बाँके जिल्ला न्यायाधीशले पक्राउ पूर्जी जारी गरेका थिए। तर, त्यसविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले पूर्वाग्रह राखेर पक्राउ गरेको ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो।
त्यसलगत्तै उनी पुनः काठमाडौं आएर माइतीघरमा अनसन बसिन्। अनसन बसेको बाह्रौँ दिनमा सरकारले दुवै घटनाको छानबिनका लागि समिति गठन गर्ने वाचा गरेपछि उनले आन्दोलन स्थगित गरिन् र नेपालगन्ज फर्किइन्।
तर, समितिको प्रतिवेदन बाहिर नै आएन। अनुसन्धान भयो कि भएन, के निष्कर्ष आयो भन्ने सार्वजनिक नै गरिएन। त्यसैले रुबी खान र उनका साथीहरु ‘चिसो काठमाडौं’मा फेरि आएका छन्।
रुबीले कुर्ता सुरुवाल र ज्याकेट लगाएकी छन्। उनका साथीहरुले भने पोलिष्टरको पातलो फरिया र चोलो लगाएका छन्। भुईंमा विछ्याइएको फर्ममा बसेका छन्। हातमा पर्चा छ। पर्चामा लेखिएको छ- ‘न्यायका बाँके कलम चलाउनुस् सरकार।’ त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको फोटो छ। सरकारले आरोपितहरूलाई पक्राउ गरेर पनि छोडेको र मुख्य आरोपितलाई नपक्रिएको उनको आरोप छ।
उनी आफ्नो मागमा अडिग छिन्। त्यो अडानले नै उनीहरूलाई फेरि काठमाडौं आउन बाध्य बनाएको हो। उनको अहिलेको आन्दोलनको संयोग गजबको छ। यतिबेला देशमा महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ। अन्य महिला अधिकारकर्मीहरु अभियानअन्तर्गत विभिन्न कार्यक्रममा सरिक भइरहँदा रुबी साथीहरुसँग चिसो भुईंमा धर्ना बसिरहेकी छन्।
उनीहरूले लगाएको एक सरो लुगाबाहेक अरु एक जोर झोलामा बोकेका छन्। हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना बस्छन्। खाने र बस्ने टुङ्गो छैन्। जसले जता बोलाउँछ उतै गएर बस्छन्। जहाँ जानु परे पनि पैदलै जान्छन्। जसले दिन्छ त्यहीँ खान्छन्। उनीहरू बसिरहेको फर्म ‘नागरिक अभियन्ता’हरूले सहयोग गरेका हुन्। उनीहरुका लागि दिउँसो पानी खाने व्यवस्था अभियन्ता तथा कवि हिमांशु बच्चुले गरेका छन्।
बाँकेस्थित कसौर बागवानको घरमा श्रीमान्, एक छोरा र एक छोरी छन्। यतिबेला अन्न थन्काउने मौसम भएकाले कामको चटारो छ। तराईको रापबाट आएकी उनलाई काठमाडौँको चिसोले सकस पारेको छ। पातलो लुगाले जीउ नै तात्दैन।
काठमाडौंको भाषा नयाँ छ। रहनसहन नयाँ छ। उनीहरुका कुरा सुनिदिने फाट्टफुट्ट मान्छे आउँछन्। तर, उनीहरुले हिम्मत हारेका छैनन्। उनलाई न्याय पाएर मात्र घर फर्किन मन छ।
खतुना मेहन्ना खैरो पछ्यौरी ओढेर बसेकी छन्। उनी नेपाली भाषा बुझ्छिन्, तर फर्काउन सक्दिनन्। उनको मातृभाषा हिन्दी र अवधी हो। उनको छेउमा साहिता खातुन पनि बसेकी छन्। चिसोका कारण उनीहरुका आँखा रसिला छन्।
न्याय खोज्न आएका उनीहरुलाई परिवारको पनि साथ छ। साहिताका सासू–ससुराले न्यायको यो आन्दोलनमा नजान कहिल्यै भनेनन्। बरु ‘न्याय पाए मात्र घर फर्किनू’ भनेका छन्। उनी बेलाबेला घरमा फोन गरिराख्छिन्। छोराछोरी सासू–ससुराले हेरिदिन्छन्। त्यसैले न्यायका लागि उनले आफ्नो आवाज मत्थर बनाउनु परेको छैन।
रुबी ‘बाँके महिला अधिकार मञ्च’की पूर्वअध्यक्ष हुन्। उनको समूहमा रहेका सबै महिला निम्न वर्गका छन्। महिला अधिकार मञ्चमा गाउँघरका गरिखाने महिलाहरु सदस्य छन्। ‘न्यायको आन्दोलनमा पैसा चाहिँदैन, मन हुनुपर्छ,’ उनी भन्छिन्, ‘महिलाहरूले गरेको आन्दोलन हो, केही गर्न सक्दैनन् भन्ने सरकारले भ्रम पालेको भए त्यसबाट मुक्त भए हुन्छ।’ सरकार पनि काठमाडौं जस्तै चिसो भएको उनी बताउँछिन्। तर, न्याय पाएरै छाड्नेमा दृढ छिन्। राज्यको छलकपटका कारण आफूहरु पुनः काठमाडौँ आएर चिसो भुईंमा बस्नु परेको उनको भनाइ छ।
सरकारले न्यायका लागि पनि शहर र गाउँ, धनी र गरिब भनेर वर्गीकरण गर्ने गरेको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।