काठमाडौं- म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ।
अपदस्थ नागरिक नेतृविरुद्धका धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हुन लागेको र यसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ।
दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कू भएको थियो। यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो।
सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए। दश हजार भन्दा बढी पक्राउ परेका छन्। अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो – यस मुद्दा साबित भए सुकीलाई तीन वर्षको जेल सजाय हुनेछ। यस मुद्धाको फैसलालाई डिसेम्बर छ सम्म स्थगित गरिएको समाचारहरुमा जनाइएको छ।
सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ। मंगलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन्।
जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाईलाई बताए अनुसार अदालतको कोठा र अदालतको फैसला पत्रकारहरूका लागि सीमित रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।