सौराहा (चितवन)- नेकपा एमालेको १० औं महाधिवेशनबाट उपाध्यक्षमा निर्विरोध चुनिएकी अष्टलक्ष्मी शाक्यले सर्वसम्मत नेतृत्व चयन पनि लोकतन्त्रको सर्वोत्तम विधि भएको बताएकी छन्।
चितवनको सौराहामा जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा मतदान चलिरहँदा नेता शाक्यले प्रतिनिधिहरुले सर्वसम्मत पनि लोकतन्त्रको विधि भएको महसुस गरेकाले त्यस अनुसार पार्टी अघि बढेको बताइन्।
सर्वसम्मत गर्दा सुरुमा केही असहज हुन्छ जस्तो लागेको भएपनि त्यस्तो नभएको उनको भनाइ थियो। 'सुरुवातमा केही अफ्ट्यारो हुन्छ कि सर्वसम्मतमा भन्ने लागेको थियो। तर, प्रतिनिधिहरुको भावना के पाइयो भने सर्वस्मत पनि लोकतन्त्रको विधि हो। सबैले सर्वसम्मतमा जान महसुस गरेकोले त्यसमा गइएको हो,' उनले भनिन्, 'त्यो लोकतन्त्रको उच्च र सर्वोत्तम पक्ष हो।'
१० औं महाधिवेशनबाट प्रतिस्पर्धामात्र चुनाव होइन भन्ने भएको उनको भनाइ छ।
पालिका र नगरतहमा सर्वसम्मत भएपनि केन्द्रमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उनले बताइन्। 'स्थानीय तहमा मानिसलाई बुझाउन सजिलो हुन्छ। उनीहरुलाई आफ्नो एकता बनाउनका लागि सहज हुन्छ,' उनले भनिन्, ' माथिको नेतृत्वमा भनेको अत्यन्तै प्रतिस्पर्धा हुन्छ। कतिपयले आफूलाई केन्द्रीत गरेको हुन्छ। प्रतिस्पर्धाबाट म जित्छु कि भन्ने आशा र विश्वास हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।