चितवन- नेकपा एमालेको जारी १० औं महाधिवेशनमा उम्मेदवारहरु यतिबेला प्रतिनिधिहरुसँग मत मागिरहेका छन्।
९ औं महाधिवेशनका क्रममा नेताहरुले दुई प्यानल नै बनाएर लडेका भएपनि यसपटक भने अवस्था फरक बनेको छ। यसपटक समूहगत रुपमा उम्मेदवारी नहुने भएको हो।
निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत भन्दै बन्दसत्रमा आइतबार राति पेस गरि पास भएको सूचीमा असन्तुष्टि जनाउँदै नेताहरुले उम्मेदवारी हालेपछि कतिपय पदमा निर्वाचन हुन लागेको छ। मतदान राति ९ बजेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन हुने भएसँगै उम्मेदवारहरु यतिबेला मतदातासँग भोट मागिरहेका छन्।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा छन्। सर्वसम्मत हुन खोजेका ओलीलाई रावलले चुनौती दिएका छन् तर उनको चुनौती कमजोर हुने देखिएको छ।
प्रतिनिधि आएकाहरु धेरै जसो ओलीपक्षका भएका कारण अध्यक्षमा रावलले ओलीलाई जितको चुनौती दिन सक्ने सम्भावना न्यून रहेको देखिएको छ। तर, रावल भने यतिबेला प्रतिनिधिहरुसँग मत माग्न व्यस्त बनेका छन्।
उनले प्रतिनिधिहरुलाई भेटेर आफूलाई मत दिन आग्रह गरिरहेका छन्। समूहमा बसेका प्रतिनिधिहरुसँग उनी मत मागिरहेका छन् भने बन्दसत्र जारी होटल परिसरमा खाजा खाइरहेकाहरुमाझ पुगेर उनी मत मागिरहेका छन्।
अध्यक्षका उम्मेदवार ओली भने खुला रुपमा मत मागिरहेका देखिएको छैन।
रावलसँगै अन्य उम्मेदवारहरुले मतदातालाई फोन, मेसेज र भेटेरै मत मागिरहेका छन्। एमाले महाधिवेशनमा प्रतिनिधिको संख्या २ हजार १ सय ७५ रहेको छ। उनीहरु नयाँ नेतृत्व चयनका लागि मतदानमा सहभागी हुने छन्। मतदान विद्युतीय माध्यमबाट हुने छ। त्यसका लागि मतदान बुथहरु बनाइएको छ। सयवटा मतदान मेसित तयारी अवस्थामा रहेको जनाइएको छ।
एमालेमा पदाधिकारीका १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन्।
ओलीको सूचीमा नपरेका निवर्तमान उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै उपाध्यक्षमा पनि निर्वाचन हुने भएको छ।
एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ। उपाध्यक्षहरूमा भुसालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको हो।
त्यस्तै सात जना सचिवका लागि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल र ओलीको सूचीमा नअटाएका भीम आचार्य एवं टंक कार्कीबीच सचिवमा प्रतिस्पर्धा हुने भएको छ।
खुला ८४ जना केन्द्रीय सदस्यमा ८४ जनाको मात्रै उम्मेदवारी परेको छ। उनीहरु सबै निर्विरोध निर्वाचित हुने छन्। खुला (महिला)तर्फ भने ५३ जनाका लागि ५४ जनाको उम्मेदवारी परेको छ।
भौगोलिक प्रदेशको खुला समूहमा मतदान हुने देखिन्छ। प्रदेश १ को खुला सदस्यका लागि छ जना सदस्यको लागि नौ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, बागमती प्रदेशमा छ जना सदस्यका लागि आठ जना, कर्णाली प्रदेशमा छ जना सदस्यका लागि सात जना र सुदूरपश्चिम प्रदेशमा छ जना सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ।
भौगोलिक प्रदेशअन्तर्गत सुदूरपश्चिमबाहेक सबै प्रदेशमा महिला आरक्षणअन्तर्गतको उम्मेदवारहरु निर्विरोध निर्वाचित हुने देखिन्छ।
सुदूरपश्चिममा भने तीन जना सदस्यका लागि छ जनाको उम्मेदवारी परेको छ। उपत्यका प्रदेश र सम्पर्क समन्वयबाट निर्विरोध निर्वाचित हुने देखिन्छ।
समावेशी समूहअन्तर्गत अधिकांश पदमा निर्वाचन हुने देखिन्छ। आदिवासी जनजातिको खुलातर्फ १७ सदस्यका लागि १९ र महिलातर्फ आठ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ।
मधेसीको खुलातर्फ १३ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ। मधेसी समूहको महिला आरक्षणतर्फ उम्मेदवारी दिएका सबै निर्विरोध निर्वाचित हुने भएका छन्।
त्यस्तै, दलितको खुलातर्फ आठ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। महिला आरक्षणमा निर्विरोध हुने देखिन्छ। थारुको खुलातर्फ पाँच सदस्यका लागि छ जनाको र महिलातर्फ दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ।
मुस्लिम खुलामा चार जनाका लागि छ जनाको उम्मेदवारी परेको छ। पिछडिएको क्षेत्रअन्तर्गत खुलातर्फ तीन जना सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ। दाबी विरोधका लागि आयोगले उम्मेदवारको सूची प्रकाशन गरेको हो। अन्तिम सूचीमा केही नामहरु हट्न भने सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।