काठमाडौँ- नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी-२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन्। शनिबार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्टइण्डिज ‘ए’ विरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
सो क्रममा उनले विश्वकपमा छनोट हुन पाउनु खुसीको क्षण रहेको र आफ्नो नाम देख्दा आँसु आएको बताए। टिममा नाम देख्ने बितिकै घरपरिवारसँग खुसी साटेको पनि उनले उल्लेख गरे। साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताए। उनले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गरेका थिए।
ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताए। सुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको उनको भनाइ थियो।
शनिबार जितपछि ओपनर आसिफ शेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए। उनल विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गरे।
पत्रकार सम्मेलनमा तीब्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिए। साथै उनले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।