काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १५ देखि १७ गतेसम्म हुने राप्रपाको एकता महाधिवेशनका लागि उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।
यसअघि नै पूर्व महामन्त्री राजेन्द्र लिङदेनले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्। पञ्चायती पृष्ठभूमि भएको, हिन्दूराज्य र राजसंस्थाको पक्षमा लबिइङ गर्दै आएको राप्रपाको अध्यक्षमा अन्य संस्थापनक नेताहरुले पनि इच्छा देखाएका छन्। प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षको रुपमा उठ्ने आकांक्षा देखाए पनि उम्मेदवारी घोषणा गरेका छैनन्।
त्यस्तै महामन्त्री र उपाध्यक्षमा धेरै आकांक्षी देखिएका छन्। तर, हालसम्म धवलशमशेर राणा र भुवन पाठकले मात्र महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन्। पटक-पटक फुट र एकीकरण हुँदै आएको राप्रपाले विभाजनकै कारण २०६४ सालको संविधान सभा निर्वाचनमा हार बेहोरेपछि पशुपतिशमशेर र कमल थापाले एकता गरेका थिए।
तर, त्यसको केही समयमा नै फेरि पार्टी फुटेको थियो। त्यसको करिब आठ वर्षपछि २०७० जेठमा फेरि पार्टी एकता भयो। तर, यो एकता लामो समय टिक्न सकेन। २०७४ सालमा विभाजन भयो। अहिले पुन: राप्रपा एक भएको छ।
यो महाधिवेशनले एकता र सद्भावको सन्देश दिनुपर्ने भन्दै थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरे। उनले हरेक महाधिवेशनपछि पार्टी विभाजन हुने तितो इतिहास अब नदोहोरियोस् भन्ने चाहेको बताए। उनले सबै महाधिवेशन प्रतिनिधिहरुलाई फर्केर घर जाँदा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्ने बताए।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई साक्षी राख्दै थापाले पार्टीको एकता कायम राख्न लाग्ने बताए। चन्द राप्रपाका एकमात्र जिवित संस्थापक अध्यक्ष हुन्। थापाले आफूलाई पशुपति शमशेरको पनि सर्मथन रहेको दाबी गरे।
प्रकाशचन्द्र लोहनीसँग पनि आफूले भेटेर आएको भन्दै थापाले पार्टी एकताको पक्षमा अटल रहेको पाएको बताए। लाेहनीकाे आफूलाई सर्मथन रहेको उनले दाबी गरे। उनले आगामी नेतृत्वको चयन सहमतिबाट गर्न योगदानको अपेक्षा गरेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।