काठमाडौं– उत्तरी पेरूमा ७.५ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ म्याग्निच्यूडको भूकम्प गएको छ।
उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको थियो।
पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो।
यसको भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ। यो पेरूको थोरै जनसंख्या भएको क्षेत्र हो जहाँ अमेजनआदिवासीहरू बसोबास गर्छन्।
यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो।
पेरूको नागरिक रक्षामामिला हेर्ने ‘नेशनल इन्स्टिच्युट अफ सिभिल डिफेन्स’ले अहिलेसम्म कुनै क्षति भएको जानकारी आइनसकेको आफ्नो पहिलोे रिपोर्टमा उल्लेख गरेको छ।
१० लाख जनसंख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महसुस गरिएको थियो।
पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० ग्रहणशील भूकम्पले हल्लिन्छ, किनकि यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ।
यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ। भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।