सौराहा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई तत्कालै ढल्न नदिन माओवादी केन्द्रसँग एकता गर्नुपरेको बताएका छन्।
शनिबार पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘हाम्रो नेतृत्वमा सरकार बन्यो। त्यो टिक्न दिने अवस्था थिएन। समर्थन फिर्ता लिने बित्तिकै सरकार ढल्थ्यो। र हामीले पार्टी एकीकरण नगर्ने हो भने, एकता नगर्ने हो भने तत्काल सरकार ढल्ने र फेरि देश अन्धकारतर्फ जाने, हामीले हाम्रो नीतिहरुको कार्यान्वयन गरेर, हाम्रो सफल नीतिहरुको सहीपना प्रमाणित गर्न पनि नपाउने र हाम्रो देश विकासमा नेतृत्व गर्ने क्षमता प्रकट नपाउने स्थिति बन्थ्यो,’ ओलीले भने, ‘त्यस स्थितिबाट जोगिन पनि हामीले पार्टी एकीकरण, एकता गर्नु, कम्युनिस्ट आन्दोलनलाई एकजुट बनाउनु र अगाडि बढ्नु आवश्यक थियो।’
उनले चुनावमा आफूहरुले असाधारण सफलता प्राप्त गरेको बताए। तर, त्यसैबेला पनि आफ्नो नेतृत्वमा सरकार बनाउन नदिन षडयन्त्र भएको उनको भनाइ छ।
‘हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न नदिन त्यसबेला गठबन्धनभित्रबाट खेल्ने कामहरु भए। जुन तालमेलका साथ चुनाव गरेका थियौं। त्यही तालमेलको सरकार बन्न नदिएर दक्षिणपन्थी शक्तिहरुसँग गठबन्धन गरेर सरकार बनाउने खालका जाली षडयन्त्रहरु त्यसबेला पनि चले,’ उनले भने,‘तर, हामीले त्यसलई पराजित गर्यौं ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।