काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली सुरु भएको शनिबार चार वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए।
‘सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाइहरु देखिएका र सूचिकरण प्रकृया सुस्त गतिमा रहेको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचिकृत प्रतिष्ठान र श्रमिकको संख्यावाट निराश हुनुपर्ने छैन,’ उनले भने।
नयाँ व्यवस्था लागु गर्दा केही समस्या त आउने भन्दै त्यसबाट विचलित हुनुभन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चूनौतीहरुलाई मनन् गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलपूर्वक अघि बढाउनुपर्ने उनले बताए।
उनले आजसम्म करिब १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचिकरण भइसकेको जानकारी पनि दिए । सूचिकृत श्रमिकहरुले सामाजिक सुरक्षा कोषबाट सुविधा पनि पाउन थालिसकेका जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र बुझाइको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।