चितवन- नेकपा (एमाले)ले नेताहरुको पदीय व्यवस्थापन मिलाउन केन्द्रीय कमिटीको आकार ठूलो बनाउने तथा उपाध्यक्ष र उपमहासचिवको पद पनि थप्ने भएको छ।
सौराहामा शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो। यो नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक थियो। अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सहमतिका लागि भन्दै गरेको केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बैठकले यसबारे दशौं महाधिवेशनको बन्दशत्रमा विधान संशोधनसम्बन्धी प्रस्ताव लैजाने निर्णय गरेको छ। त्यस्तै, २ उपाध्यक्ष र २ उपमहासचिव थप्ने ओलीको प्रस्ताव पनि बैठकले पारित गरेको छ। गत असोजमा सम्पन्न एमालेको विधान महाधिवेशनले केन्द्रीय कमिटी २२५ सदस्यीय रहने, उपाध्यक्ष ४ र उपमहासचिव १ जना रहने व्यवस्था गरेको थियो।
अब उपाध्यक्ष ६ र उपमहासचिव ३ जना हुनेछन्। अब नयाँ पद थप्न एमालेले दशौं महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गर्नुपर्नेछ।
एमालेले विधान महाधिवेशनबाट हटाइएको पोलिटब्यूरो पनि ब्युँताउने निर्णय गरेको छ। जसअनुसार केन्द्रीय कमिटीको एकतिहाइ सदस्य अर्थात् ९९ सदस्यीय पोलिटब्यूरो हुनेछ। एमालेको स्थायी कमिटी भने ४५ सदस्यीय हुनेछ।
वरिष्ठ उपाध्यक्ष, महासचिव र सचिवका पद भने यथावत् रहनेछन्। विधान महाधिवेशनले १ वरिष्ठ उपाध्यक्ष, १ महासचिव र ७ जना सचिवको व्यवस्था गरेको थियो।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सर्वसम्मत रुपमा पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि बन्दशत्रमा प्रस्ताव लैजाने निर्णय पनि केन्द्रीय कमिटी बैठकले गरेको नेपाल लाइभलाई बताए।
एमालेको दशौं महाधिवेशनको बन्दशत्र शनिबार बिहान सौराहामा सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।