काठमाडौं- नेकपा (एमाले)को चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशन अब नयाँ नेतृत्व र केन्द्रीय कमिटी चयनतर्फ अघि बढ्दा नेताहरुले धमाधम आफ्ना आकांक्षा सार्वजनिक गर्न थालेका छन्। कतिपयले यसअघि नै अप्रत्यक्ष रुपमा उम्मेदवारी सार्वजनिक गर्दै आएकोमा महाधिवेशनको उद्घाटन सत्र सकिएपछि धेरैजना खुल्न थालेका छन्। सामाजिक सञ्जालमा पोस्टरसमेत सार्वजनिक गरेर कतिपयले मत माग्न थालिसकेका छन्।
तर, एमालेको यो महाधिवेशनमा एउटा यस्तो पंक्ति छ जो यी कुनै गतिविधिमा संलग्न छैन। तत्कालीन नेकपालाई सर्वोच्च अदालतले वैधता नदिएपछि ब्युँतिएका एमाले र माओवादीमध्ये माओवादीलाई छाडेर एमालेमा लागेका नेताहरुको प्रसंग हो यो। चितवन महाधिवेशनमा पूर्वमाओवादी केन्द्रका नेताहरु चुपचाप छन्। उनीहरुले आफ्ना चाहना पनि बाहिर ल्याएका छैनन्। र, केवल प्रतीक्षा गरिरहेका छन्, अध्यक्ष केपी शर्मा ओलीको संकेतको।
नेकपाको निरन्तरताका रुपमा माओवादी केन्द्र परित्याग गरेर एमाले रोजेको बताउँदै आएका पूर्वमाओवादीका चार नेता एमालेको स्थायी कमिटीमा र अरु २० जना केन्द्रीय कमिटीमा छन्। एमालेको दशौं महाधिवेशनमा पूर्वमाओवादी केन्द्र पक्षका २ सय भन्दा धेरै प्रतिनिधि चयन भएका छन्। तर, झण्डै २२ सय महाधिवेशन प्रतिनिधिमा यो संख्या आफैमा निर्णायक होइन।
आफ्नो प्रतिनिधि संख्या निकै सानो भएको र पुरानो एमाले पंक्तिको सहयोग पाउने वा नपाउने निश्चित नभएकाले पूर्वमाओवादी नेताहरु एमालेको नेतृत्वमा आफ्नो दाबी गर्न पनि हच्किइरहेका छन्। र, यसमा ओलीकै संकेत कुरिरहेका छन्। एक केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने, ‘परिस्थिति प्रतिकुल देख्दादेख्दै यत्तिकै बोल्ने वा मुभ गर्ने कुरा पनि भएन। परिस्थितिअनुसार जोगिएर चल्नुपर्यो नि।’
एमाले अध्यक्ष ओली पार्टीमा नेतृत्वसहित अन्य पदाधिकारी र केन्द्रीय कमिटी पनि सर्वसम्मत गर्ने प्रयत्नमा लागिरहेका छन्। तर, परिस्थिति भने त्यस्तो देखिएको छैन। खासगरी ओलीको कोर टिमका भनिएका नेताहरु नै प्रतिस्पर्धा गरेर भए पनि पदाधिकारीदेखि केन्द्रिय कमिटीमा आउने जोडबलमा लागेपछि सर्वसम्मतिको प्रयास कमजोर बन्दै गएको देखिन्छ। त्यसो हुँदा उनले अप्ठेरो परिस्थितिमा आफूलाई साथ दिएका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन गर्न पनि कठिन हुने देखिएको छ।
यी र यस्तै कारण पनि एमालेमा आफ्ना लागि सुरक्षित अवस्था नदेखेका पूर्वमाओवादी नेताहरु न खुलेर सर्वसम्मतिको वकालत गरिरहेका छन्, न प्रतिस्पर्धाको कुरा गरिरहेका छन्। आफ्नो लागि सर्वसम्मतिको कुरा गर्दा प्रतिस्पर्धाका लागि तयार भएको पंक्ति चिढिने खतरा छ, अनि प्रतिस्पर्धाको कुरा गर्न आफूसँग शक्ति छैन। यहीकारण चुपचाप बसेका उनीहरु अध्यक्ष ओलीले जुन ठाउँ दिन्छन्, त्यही जिम्मेवारी स्वीकार्ने मनस्थितिमा रहेको देखिन्छ।
एमाले स्थायी कमिटी सदस्य मणि थापाले भने दशौं महाधिवेशन विशेष परिस्थितिमा भइरहेकाले चुनावी प्रतिस्पर्धा नभई सर्वसम्मत रुपमा सम्पन्न गर्नुपर्ने बताए। ‘अहिले एमाले महाधिवेशन विशेष खालको परिस्थतिमा भइरहेको छ। त्यस्तो बेलामा सबै पक्षलाई समेट्नु पर्ने छ। त्यसकारण सबै विषय सहमतिमा टुंग्याउँदा राम्रो हुने छ’, थापाले भने, ‘यसअघि एमालेमा प्यानल नै बनाएर चुनाव लड्दा राम्रो भएन, त्यसो हुँदा सर्वसम्मतिमा सबै पद टुंग्याउनु पर्छ भन्ने छ।’
एमालेमा पूर्वमाओवादीबाट अधिकतम २५ जना केन्द्रीय कमिटीमा आउने स्थिति रहेको बताइन्छ। त्यसमध्ये नेता रामबहादुर थापा ‘बादल’लाई पार्टी उपाध्यक्षमा व्यवस्थापन गर्न सक्ने आकलन गरिएको छ। स्थायी कमिटीमा भएका टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टमध्ये एक जनालाई पदाधिकारीमा राख्नुपर्ने उनीहरुको माग छ। तीन जनामध्ये ओलीको पहिलो रोजाईमा भट्ट परेका छन्। यद्यपि उनीहरुले पार्टी सचिवमा सकेसम्म २ जना नभए एक जनालाई राख्न अनुरोध गरिरहेको बताइन्छ।
ती तीन जनामध्ये रायमाझी र भट्टमध्ये एक जना सचिव बन्न सक्छन्। थापा भने स्थायी कमिटीमा मात्र कायम हुन सक्ने नेताहरु बताउँछन्। केन्द्रीय सदस्य प्रभु साहलाई स्थायी कमिटीमा ल्याउनु पर्ने र प्रदेश २ मा महत्वपूर्ण भूमिका हुनुपर्ने माग पनि उनीहरुको छ। सहमति वा प्रतिस्पर्धा जे भएपनि पूर्वमाओवादीका सबै २५ केन्द्रीय सदस्यलाई चित्त बुझाएर राख्न भने ओलीलाई पनि सहज छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।