मुजफ्फरबाद (पाकिस्तान)- प्राय: तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्को झडप भएको छ।
झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागी पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ।
सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको सो झडपमा गोली चल्दा एकै परिवारका दुई दाजुबहिनीको ज्यान गएको बताइएको छ। झडपमा अरु दुई जना घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँका दुई महिला रहेको समाचारमा जनाइएको छ।
मंगलबार मात्र पनि भारत अधिनस्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोस्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए।
सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ। सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।