काठमाडौं– एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। बहराइनमा आयोजना हुन लागेको एसियन युथ पारा गेम्समा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो।
नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पारा तेक्वोन्दोबाट पलेशा गोवर्द्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजाले प्रतिस्पर्धा गर्नेछन्। यता, पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन्।
एसियन युथ पारा गेम्स २ देखि ८ डिसेम्बरसम्म बहराइनको मानामा शहरमा आयोजना हुँदैछ। बहराइन जाने ४ खेलाडीसहित ६ सदस्यीय टोलीलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष नन्दकुमार राईलगायतले बिदाइ गरे। पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्।
पलेशाले के ४४ को ५७ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन्। सिर्जनाले के ४४ को ५२ केजीमुनि तथा विशालले के ४४ को ५८ केजीमुनि खेल्नेछन्। ब्याडमिन्टनका प्रकाशले एसएल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
प्रशिक्षक लामासहित सिर्जना र विशाल गर्वुजा आज (शुक्रबार) साँझ तथा टोली नेता नन्दा बस्याल, पलेशा र प्रकाश शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।