काठमाडौं- शरीर पहिलेको जस्तो तन्दुरुस्त छैन। बमका छर्रा बोकेर हिँडेका छन्। चर्को घाम र चिसो दुवै सहन सक्दैनन्। बेला बेलामा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ।
धेरै लामो समय उपचार गरे पनि उनको छाती, हात र आँखामा छर्रा बाँकी छन्। त्यसैले शरीर दुखिरहन्छ। तर, राजनीति छाडेका छैनन्। हिजो पनि उनी सडकमा थिए र आज पनि सडकमा छन्। सडकबाट राजनीति गरिरहेका छन्।
त्यो दिन उनी आमाको उपचारका लागि दौडिरहेका थिए। त्यही बेला एउटा भयानक ‘दुर्घटना’मा परे। बम विष्फोटले उनको जीवन नै मोडिदियो। त्यो दिन अहिले पनि उनको सम्झनामा छ।
रविन त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर स्नातक पढिरहेका थिए। बेथितिविरुद्धको आन्दोलनमा पनि सहभागी हुन्थे। त्यसबापत कयौँ पटक हिरासतमा पनि पुगिसकेका थिए।
यता बीएस्सी दोस्रो वर्षको परीक्षा नजिकिँदै थियो। उता रुकुमस्थित गाउँमा रुखबाट लडेर आमाको दुवै हात भाँचिए। आमालाई वीर अस्पतालको ट्रमा सेन्टर भर्ना गरिएको थियो।
आमाको उपचारका लागी पर्याप्त पैसा थिएन। उनको परिवार आर्थिक रूपमा बलियो छैन। उनले साथी प्रज्वल शाहीसँग सहयोग मागेका थिए। प्रज्वलकोे घर बझाङ हो। उनीहरु दुवै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृसंगठन अखिल क्रान्तिकारीमा काम गर्थे। प्रज्वल केन्द्रीय सदस्य र रविन कार्यकर्ता थिए।
२०७६ साल वैशाख १२ गते उनको परीक्षाको दिन थियो। परीक्षा दिन दिउसो १ बजे शान्तिनगरस्थित वागमती बहुमुखी क्याम्पस परीक्षा केन्द्रको हलमा पुगे। तर, त्यो दिन उनले आमाको उपचारका लागि पैसा जुटाउनुपर्ने थियो। साथी प्रज्वलसँग पैसा सापटी मागेका थिए। उनले पाँच हजार रुपैयाँ दिने वचन पनि दिएका थिए।
रविन परीक्षा हलमा बसिरहन सकेनन्। एक घन्टामा नै निस्किए। प्रज्वलले आफू बस्ने डेराको लोकेसन दिएका थिए। उनी डेरा खोज्दै घट्टेकुलोतिर लागे। तर, घर पत्ता लगाउन सकेनन्। फेरि फोन गरे। उनलाई लिन प्रज्वल आफैँ घरबाहिर निस्किए।
दुवै जना डेरा पुगे। प्रज्वल भित्र छिरिसकेका थिए। उनी मूल ढोकामा जुत्ता खोल्न थाले। एउटा जुत्ता खोलिसकेर अर्को जुत्ताको तुना खोल्न घोप्टो परेका थिए। त्यति नै बेला अचानक विस्फोटको ठूलो आवाज आयो। त्यो आवाज कानले थेग्न सक्ने खालको थिएन।
बमका छर्राहरु उनको शरीरका विभिन्न भागमा लाग्यो। अनुहार पनि छियाछिया भयो। रगत बग्न थाल्यो। त्यही बेला भित्रबाट कालो मुस्लो मडारिएर बाहिर आयो। उनका आँखाले सबै अन्धकार मात्र देख्यो। अनि, बेहोस भएर त्यहीँ ढले।
त्यसपछि के भयो उनलाई पत्तो हुने कुरै भएन। केही बेरमै प्रहरी आएछ र उनलाई उद्वार गरेर अस्पताल पुर्याएछ।
उता आमा ट्रमा सेन्टरमा छोरोको बाटो कुरिरहेकी थिइन्। हुन त रविनलाई पनि ट्रमा सेन्टर नै लगिएको थियो। तर, दुई जना सँगै थिएनन्। न त आमाले छोरोको खबर नै थाहा पाएकी थिइन्। उनी त्यही दिन अस्पतालबाट बिदा भइछिन्। डिस्चार्जका लागि पार्टीका साथीहरूले सहयोग गरे पनि छोरो दुर्घटनामा परेको खबर सुनाएनछन्। आमालाई पार्टीकै साथीहरुले लगेर राखेछन्।
अस्पतालको बेडमा उनका आँखा खुल्दा प्रहरीले पहरा दिइरहेका थिए। साथी प्रज्वलको मृत्यु भइसकेको रहेछ। आफू घाइते हुँदा दुःख त थियो नै, प्रज्वलको मृत्युको खबरले झनै मर्माहत भए।
अब अस्पतालको बेडमा नै प्रहरीले उनीमाथि केरकार सुरु गर्यो। ‘उपचारमै रहेको बेला प्रहरीले मलाई मानसिक यातना दियो,’ उनले भने, ‘म घाइते थिएँ। यो देशको नागरिक हुँ र पीडित थिएँ। तर, मलाई राज्यले अपराधीजस्तो करार गर्यो।’
रविनले ट्रमा सेन्टरमा चार दिन उपचार गराए। त्यति बेलासम्ममा विष्फोटको समाचार लगातार आइरहेका थिए। देशैभर चर्चा थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसदमा ‘आतंककारीहरूले बम विस्फोट गराएको’ बताए। उनले विप्लव नेतृत्वको नेकपातिर संकेत गर्दै यस्तो बताएका थिए।
रविन पनि नेकपाको भातृसंगठनको सदस्य थिए। बम विष्फोट गराउन आफ्नो हात नभएको उनी बताउँछन्। तर, बादलले ‘आतंककारी’ भन्दा आफ्नो चित्त दुखेको उनको भनाइ छ। ‘म पीडामा थिएँ। गृहमन्त्रीले त्यो दुर्घटनालाई पनि राजनीतक रङ दिए। राजनीतिक आँखाले हेरे। अझै आतंककारी नै भने। त्यसबाट उनीहरुको दृष्टिकोण प्रष्ट हुन्छ,’ रविन भन्छन्।
उनको उपचार पार्टी र विद्यार्थी संगठनले गरिदियो। तर, प्रहरीको पहरा जारी थियो। चार दिनपछि उनी हिरासत पुगे। उनीमाथि जाहेरी पर्यो र प्रहरीले छानबिन थाल्यो। उनी ६५ दिन हिरासतमा बसे। उनको शरीरमा बारुदका छर्रा बाँकी नै थिए। आमाको अवस्था बुझ्न सकेका थिएनन्।
त्यसअघि पनि उनी हिरासत परेका थिए। राज्यका बेथिति र अन्यायविरुद्धका आन्दोलनमा उनी सहभागी हुने गरेका थिए। त्यसकारण पटक-पटक पक्राउ पर्ने गर्थे। त्यसैले प्रहरीको त्यो कक्ष उनका लागि नयाँ थिएन। तर, त्यति बेला भने फरक अनुभूति गरे। प्रहरीले गर्ने व्यवहार फरक थियो।
दुई महिनाभन्दा बढी समय हिरासतमा राखेपछि उनलाई जेल चलान गरियो। उनले २६ महिना सुन्धाराको सेन्ट्रल जेलमा बिताए। ‘मेरो जेलको २६ महिना २६ जुनीजस्तो भयो। जेल सिकाइको पाठशाला रहेछ। धेरै कुरा जान्न पाएँ,’ उनी भन्छन्।
२०७८ असार २१ मा सर्वोच्चको आदेशबाट उनी रिहा भए। उनी अहिले खुला संसारमा छन्। तर, जेलभित्र पनि राज्यले गर्ने विभेद र यातना सम्झेर दुःखी हुन्छन्।
त्यो दुर्घटनाको पीडा भने उनले जिन्दगीभर सहनुपर्ने भएको छ। शरीरमा कता-कता छर्रा छन् अझै थाहा छैन। बेला बेला चस्केर दुख्छ। अझै उपचार जारी राख्नु परेको छ। तर, आफूले दुःखी गरिबका लागि गरिरहेको राजनीतिबाट भने अलग नहुने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।