काठमाडौं– शुक्रबारदेखि चितवनमा सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूलतः पार्टी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय कमिटी चयनमा केन्द्रित हुँदै छ। सकेसम्म सर्वसम्मतिमै प्रमुख नेतृत्व, पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने जोडबल एमालेमा भए पनि अन्ततः सबै पदमा चुनावी प्रतिस्पर्धा नै हुने निश्चित जस्तै देखिएको छ।
चुनावी प्रतिस्पर्धाको माहोल बनेपछि पदाधिकारीमात्र होइन, केन्द्रीय कमिटीमा पनि आकांक्षीहरुको पंक्ति ठूलो देखिन थालेको छ। विभिन्न जनवर्गीय संगठनका नेतासँगै जिल्लाको राजनीतिमा केन्द्रित नेताहरुले पनि धमाधम केन्द्रीय कमिटी सदस्यमा दाबी गर्न थालेका छन्।
एमाले बाँकेका पूर्वअध्यक्ष सूर्य ढकालले आफू केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन्। ‘मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा हो, पार्टीलाई युवासहितको ऊर्जावान बनाउन मैले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निधो गरेको छु’, ढकालले भने। उनी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य र युवासंघका पूर्वउपाध्यक्ष हुन्।
एमाले बाँकेकै सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्ती अधिकारीले पनि महिला क्लस्टरमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने बताइन्।
एमालेका हुम्ला जिल्ला कमिटी अध्यक्ष दल रावलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। ‘विकट कर्णालीको प्रतिनिधित्वसहित म केन्द्रीय कमिटीमा दाबी गर्न चाहन्छु’, उनले भने। रावल कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री हुन्।
यस्तै, एमाले जाजरकोटका नेता लालबहादुर महताराले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। हाल एमालेको कर्णाली प्रदेश कमिटी सदस्य रहेका उनले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा दाबी गरेका छन्।
२०४६ सालमा अनेरास्ववियुमा आवद्ध भएका उनी २०५४ सालमा तत्कालीन पजारु गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भएका थिए। २०५४ सालमा एमाले जाजरकोटको जिल्ला सचिव भएका उनी हाल छेडागाड नगरपालिकाका मेयर छन्।
पर्साका एमाले नेता अरबिन्द सिंहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन्। सिंह नवौं महाधिवेशनअघि एमाले पर्साको सचिवालय सदस्य थिए। नवौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवार बनेका उनी पराजित भएका थिए।
त्यसपछि उनी एमाले केन्द्रीय प्रचार विभाग सदस्य मनोनीत भएका थिए। ‘पदाधिकारीमा जान नसक्ने र केन्द्रीय कमिटीभन्दा माथि जिम्मेवारी पाउन नसक्ने नेताहरुले पनि तीन–चार कार्यकालदेखि केन्द्रीय कमिटी ओगटेर बस्नुभो, त्यसले गर्दा हामी ४०–५० वर्षको पुस्ता जाम हुने स्थिति भो’, सिंहले भने, ‘त्यही भएर यो पुस्ता केन्द्रीय कमिटीमा पुग्नुपर्छ भनेर मैले केन्द्रीय सदस्यमा दाबी गरेको हुँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।