काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन्।
बिहीबार नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले सञ्चारमाध्यमहरुसँग आफ्नो उम्मेदवारीबारे यसअघि नै बोलिसकेका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा निधिले प्रतिबद्धता र योजना पनि सार्वजनिक गरेका छन्। 'पार्टीभित्र विकसित गुट-उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरुलाई ऐक्यबद्ध रुपमा पार्टीको लक्ष्यउन्मुख गराउने', उनले भने।
निधि लामो समयसम्म वर्तमान सभापति शेरबहादुर देउवाको टिममा थिए। तर, १३औं महाधिवेशनमा देउवालाई आफूले सघाउने र १४औंमा देउवाले आफूलाई सघाउने भनिएको भए पनि देउवाले आफैं उम्मेदवार हुन अघि सरेपछि निधि पनि अघि बढेका हुन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। यो महाधिवेशनले नेतृत्व टुंगो लगाउने र नीति महाधिवेशन छुट्टै गरिने निर्णय यस अघि नै गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।