चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन्। शुक्रबारबाट सुरु हुने पार्टीको १० औं महाधिवेशनमा भाग लिन ओली बिहीबार दिउँसो भरतपुर विमानस्थल अवतरण भएका हुन्।
भरतपुर विमानस्थलमा कार्यकर्ताहरूले ओलीको भव्य स्वागत गरेका छन्। चितवन एमाले अध्यक्ष पार्वती रावल लगायत विमानस्थल पुगेका थिए।
विमानस्थलमा पत्रकारसँग ओलीले प्रतिक्रिया दिन मानेनन्। 'अहिले कुरा गर्न भ्याइँदैन' सञ्चारकर्मीसँग ओलीले भने।
ओली सौराह प्रस्थान गरेका छन्। उनले सौराहमा आराम गर्नेछन्। त्यसपछि उनी महाधिवेशनस्थल अवलोकनका लागि जाने नेताहरूले बताएका छन्।
एमालेको महाधिवेशन भोलि शुक्रबार नारायणी नदी किनारमा उद्घाटन हुँदैछ। महाधिवेशन १२ गतेसम्म चल्ने एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।