काठमाडौं– ललिपुरको कांग्रेस राजनीतिमा संस्थापन पक्षकै नेताहरुले प्यानल खडा गरेर निर्वाचनमा आफू पक्षीयलाई भिडाएका छन्। मंसिर १० ( शुक्रबार) को लागि तय भएको जिल्ला सभापतिको निर्वाचनमा पनि संस्थाप पक्ष एक आपसमा भिड्ने भएका छन्।
नेता उदय शमसेर राणा र मदन अमात्यका उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका छन्। राणा र अमात्य दुबै सभापति शेरबहादुर देउवा निकट नेता हुन्। राणा पूर्व अर्थराज्यमन्त्री समेत हुन्। अमात्य हाल ललितपुरको जिल्ला सभापति छन्।
राणाको प्यानलबाट ललितपुरको सभापतिमा मीनकृष्ण महर्जन र जितेन्द्र मलेखुले प्रतिस्पर्धा गर्ने भएका छन्। राणा निकटका दुई प्रत्यासीले आन्तरिक सहमति गरेर उम्मेदवारी दिने भएका छन्। दोस्रो चरणमा मतदान हुने अवस्था आयो भने महर्जन र मलेखु मध्ये जुनले बढी मत ल्याउँछ,उसैलाई सघाउने सहमति बनेको छ।
राणा निकट महर्जन र मलेखुसँग प्रतिस्पर्धा गर्न अमात्यले रामकृष्ण चित्रकारलाई उम्मेदवार बनाउन लागेका छन्। संस्थापनइतर पक्ष ललितपुरमा कमजोर रहेकाले राणा वा अमात्यले उठाएका उम्मेदवारलाई नै उक्त समूहका कार्यकर्ताले मत दिने भएका छन्।
ललितपुरमा राणा पक्ष बलियो छ। प्रदेश सभा तथा प्रतिनिधि सभा अधिवेशनमा अधिकांश उनी पक्षका उम्मेदवारले जीत निकालेका छन्। ललितपुरका ६ प्रदेश सभाका सभापतिको उम्मेदवार सहित सबै प्यानलमा राणा पक्षधर विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।