काठमाडौं- ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १२ गतेदेखि हुने भएको छ।
आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो। नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएई, कोरियालगायतका राष्ट्र सहभागी हुने बताइएको छ। प्रतियोगिता निर्देशक शंकर गौतमले बंगलादेश र पाकिस्तानबाट राष्ट्रिय खेलाडीको सहभागिता रहने जानकारी दिए।
पुरुष/महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने छ। सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ।
प्रतियोगिताको अनुमानित बजेट २१ लाख ५० हजार रुपैयाँ रहेको छ। त्यसमा मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिले ५० प्रतिशत रकम प्रायोजन गरिदिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।