काठमाडौं- नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं-एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेका छन्।
सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे। प्रशंसा र सुनिराको जोडी सर्किट– १ को पनि विजेता हुन्।
उक्त स्पर्धाको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने। सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए।
सक्षमले पनि सर्किट– १ को डबल्समा स्वर्ण जितेका थिए। त्यसबेला सक्षमले नेपालका आयुशमान हजुर घलेसंग मिलेर खेलेका थिए।
ब्वाइज सिंगल्समा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६–३ र ६–१ तथा नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा पुगे।
त्यसै स्पर्धाको गल्र्समा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–३ र ७–५ तथा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१ र ६–० को सीधा सेटमा पन्छ्याउदै फाइनल भिडन्त पक्का गरे। सिंगल्स फाइनल बिहीबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।