चितवन– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ।
महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी क्षेत्र र सौराह क्षेत्रमा चहल पहल बढेको छ।
एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय संगठनका नेताहरु चितवन पुग्ने क्रम जारी छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु पनि बिहीबारदेखि आउने क्रम सुरु हुनेछ।
महाधिवेशन प्रतिनिधिका लागि सौराहमा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ।

महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदीको किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ।
एमाले केन्द्रीय कमिटीका सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले मञ्च निर्माणको काम ७५ प्रतिशत सकिएको जानकारी दिए।
‘उद्घाटन सत्रमा निर्माण भइरहेको र बन्द सत्रका लागि तयार भइरहेको संरचनाको काम ७५ प्रतिशत सकिएको छ,’ उनले नेपाल लाइभसँग भने, ‘भोलि साँझसम्म दुवै तर्फको निर्माणको काम पूरा गर्छौं।’
मञ्चको भौतिक संरचना निर्माणको काम सबै सकेर अहिले सजावटको काम भइरहेको बताए। उद्घाटन सत्रको सभाका लागि मञ्चको निर्माणसँगै अन्य संरचना पनि बनाउने काम भइरहेको छ।
उनले बिहान ६ बजेदेखि रातिको ११ बजेसम्म निरन्तर प्राविधिक र अन्य कर्मचारीहरुले काम गरिरहेको बताए।
.jpg)
संयोजक श्रेष्ठले ५० लाखको लागतमा प्रविधिमैत्री र भव्य मञ्च निर्माणको काम भइरहेको जानकारी दिए।
मञ्च निर्माण भइरहेको नारायणी नदी किनार र पारिपट्टीको स्थान पनि सहभागीहरुलाई बस्ने व्यवस्था गरिएको छ। सहज रुपमा उद्घाटन समारोह हेर्नका लागि ठूला ठूला एलसीडी जडानको काम पनि अघि बढाइएको छ।
बन्दसत्र सौराहको होटल सेभेन स्टारमा आयोजना गरिँदैछ। त्यहाँ होटलको सभाहलमा निर्वाचन गर्ने व्यवस्था मिलाइएको एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन मूल आयोजक कमिटीका सदस्य कपिल पोखरेलले जानकारी दिए।
‘हामीले सौराहमा प्रतिनिधिलाई स्वागत गर्न र उहाँहरुको बसोबासको व्यवस्थापनको काम सबै तयारी गरेका छौं,’ उनले भने, ‘सबैजसो साथीहरु उद्घाटन सत्रकै दिन आइपुग्नुहुन्छ। नारायणी नदी किनारमा उद्घाटन सकिएपछि सौराहसम्म ल्याउने सबै व्यवस्था भइसकेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।