भरतपुर– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ। महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल बुधबार दिउँसो चितवन पुगिसकेका छन्।
त्यस्तै, स्थायी कमिटी सदस्य एवम् मूल आयोजक समितिका सह सयोजक सुरेन्द्र पाण्डे पनि चितवन पुगेका छन्।
महाधिवेशनको तयारीका लागि बुधबार बेलुकासम्म महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा (बादल) पनि चितवन आउने प्रचार सहयोग समिति चितवनका सचिव तिलकराम रिमालले जानकारी दिए।
नेताहरुले चितवनमा पार्टीको महाधिवेशनको तयारीका सन्दर्भमा भएका गतिविधिबारे अनुगमन तथा निर्देशन दिने रिमालले बताए।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। मंसिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।