भाषा बुझ्न अप्ठ्यारो छ बस्न्या शहरको
यही ठौर औषधी छैन मनका रहरको।
भर्खर जुँगाको रेखी बस्दै गरेका शंकर मल्ल ठकुरीले गीतबाटै दुःख पोखे। उनी बाजुराको सदरमुकाम मार्तडीबाट कोल्टीको पैदल यात्रामा थिए। बाटैमा भेटिएका उनले देउडा हालेर पैदलयात्रीलाई बाटो काट्न सहज बनाइदिए।
बिहानै बाउली अनाईको खोला छिचोल्दै खणुका डाँडामा पुगेपछि उनी पनि जीप कुरेर बसे। दिउँसो २ बजेसम्म जीप आएन। उनले त्यसैमा गीत कथिहाले–
‘गाउँल्याका षड्यन्त्र हुन् कि दुश्मनका झाल हुन् कि
जाँ जान्छु ठक्करै खान्छु, समय साल हुन् कि’
शंकरको घर बाजुराको उत्तरीभेगमा पर्ने हिमाली गाउँपालिका–६ धिममा छ। उक्त गाउँ विकासको दृष्टिले पछि परेको छ। चरम अभाव, गरिबी, अशिक्षा, बेरोजगारी सुदूरपश्चिम पहाडको विशेषता नै बनेको छ। यस्तै जटिलताबीच गायकीको प्रतिभा बोकेर शहर ताक्दैछन् १८ वर्षीय शंकर।
उनले विद्यालय शिक्षा गाउँमा नै पूरा गरे। २०७४ सालमा एसईई उत्तीर्ण गरेपछि ११ र १२ कक्षा पढ्न सदरमुकाम मार्तडी आए। विज्ञान विषय लिएर मावि तह पूरा गरे। उनको रुचि भने गायनमा नै थियो।
सानैदेखि देउडा गाउँथे। दौरा सुरुवालमा ठाँटिएर देउडा गाउनु उनको सपना थियो। स्कुलमा सांस्कृतिक कार्यक्रम त हुन्थे, तर देउडा प्रतियोगिता हुँदैन थियो। उनलाई भने मामा र आमाको साथले देउडा गायनमा लागिरहन प्रेरणा मिल्यो।
छिमेकी जिल्ला मुगुस्थित मामाघरमा देउडा गायनको वातावरण छ। मामा देउडा खेल्न निकै टाढासम्म पुग्छन्। उनी पनि मामासँग देउडा हेर्न जान्थे। आमासमेत देउडा गाउँछिन्। ‘मेरो देउडा सिकाइको पाठशाला नै आमा र मामा हुनुहुन्छ,’ उनी भन्छन्।
१४ वर्षको उमेरमा पहिलो पटक देउडा गाएका थिए। उनले एकाएक देउडा गाएको देख्दा गाउँलेहरु चकित परेको उनी बताउँछन्। त्यसपछि धमाधम देउडा खेल्ने ‘अफर’ आउन थाल्यो। अहिले देउडा खेल्नका लागि बाजुरा, मुगु, अछाम, कालिकोटसम्म पुग्छन्। उनी सामान्य गफगाफको जवाफ पनि देउडाबाटै दिन्छन्। सानै उमेरमा उनले देउडा खेलमा पाएको सफलताको रहस्यबारे सोध्दा उनले यसरी जवाफ फर्काए–
घन सब्बल सानै त हुन्छन् चट्टान गिराउँदाछन्
जो हड्दाछन् बाङ्गा बाटा उनलेई बिराउँदाछन्।
एसईईपछि पढ्नका लागि मार्तडी बस्दा उनको कुराकानी अछामी देउडा गायिका पान्सा थापासँग हुन थाल्यो। उनीहरु फोनमा नै देउडा खेल्थे। त्यति बेलासम्म देखादेख नभएकी पान्सा उनको ‘देउडा गुरु’ भइन्। तर, खेलमा भने उनीहरुबीच नै टक्कर पथ्र्यो। अनुभवी देउडा गायिका पान्साको हर सवालको जवाफ दिन शंकर चुक्दैन थिए। यसले उनलाई समसामयिक घटनाबारे पनि जानकारी हुन थाल्यो।
बाजुराको मौलिक पर्व ‘अनन्ते’मा भएको देउडा खेलमा उनी विजेता बने। त्यसपछि उनी चर्चामा आए। उनले अहिलेसम्म नाम चलेका खेलाडी पान्सासहित कमला धामी, बेला रोकाया लगायतसँग देउडा खेलिसकेका छन्। ‘मैले धेरै पुरुष खेलाडीलाई पनि हराएको छु। अब कालिकोटका नेत्रराज शाही र पुष्पराज आचार्य तथा अछामका रामबहादुर साउदसँग खेल्ने धोको छ,’ उनी भन्छन्।
तर, उनीसँग बुवा भने खुसी छैनन्। बुवाले पटकपटक ‘देउडा खेल्ने छोरो कहिले काम लाग्दैन’ भनिरहन्छन्। बुवाले पहिला करियर बनाउन सम्झाइरहन्छन्। लोकसेवाको परीक्षा दिन दबाब दिन्छन्। त्यसैले बुवा र दाइसँग उनको खुलेर बोलचाल भएको छैन।
उनी अब देउडा नखेली बस्न सक्दैनन्। ‘मलाई नशा नै देउडाको छ, चाहेर पनि छाड्न सक्दिनँ। बरु बुवाको इच्छा पूरा गरिदिन अब लोकसेवा परीक्षाको तयारी गर्ने सोचमा छु,’ उनी भन्छन्, ‘देउडा गाएर नाम हुन्छ, दाम हुँदैन। त्यसैले यसैमा हिँडिरहन सकिँदो रहेनछ।’
देउडा केवल गीत मात्र होइन। यो सुदूरपश्चिमको संस्कृति हो। ज्ञान र सूचना बाँड्ने माध्यम हो। सामाजिक रुपमा मनोरञ्जन गर्ने साधन हो। देउडा गाउँदा टुक्का मिलाएर मात्र हुँदैन, सवालको विषयवस्तुप्रति जानकार हुनुपर्छ। देउडामा प्रेमको भाव मात्र हुँदैन, सामाजिक, आर्थिक र राजनीतिक विषय पनि हुन्छ। व्यङ्ग्य हुन्छ। शंकरलाई उनको राजनीतिक चासो र जानकारीबारे सोध्दा देउडामा नै यसरी जवाफ दिए–
छुटिया छुटछुटै भया प्रचण्ड र केपी
क्या तिनका उपति भयो जनताकन हेपी
अहिले उनी आफ्नो पढाइ र व्यक्तिगत खर्च देउडा गाएरै कमाउँछन्। कहिले देउडा आयोजकले दिन्छन् त कहिले पुरस्कार पाउँछन्। खर्च घरमा माग्नु परेको छैन। उनी स्नातक अध्ययन पूरा गरेपछि गाउनका लागि काठमाडौँ जाने सोचमा छन्। तर, त्यति बेलासम्म लोकसेवा परीक्षा उत्तीर्ण भए भने उनको बाटो मोडिनेछ।
उनलाई आफ्नी बहिनीको चिन्ताले सताइरहन्छ। बहिनीलाई अपाङ्गता भएको तीन वर्ष भयो। उनको वेदना देउडामा यसरी पोख्छन्–
घाम भया सितल बस्न्या काइँ भेटिन रुख
बुझिदिन्याँ कोही भेट्याइनँ मनौदाका दुःख।
बहिनीलाई पक्षघात भएको छ। हिँडडुल गर्न सक्दिनन्। आर्थिक अवस्था कमजोर हुँदा भनेजस्तो ठाउँमा लगेर उपचार गराउन सकिएको छैन। उनको पहिलो अठोट नै पैसा कमाएर बहिनीको उपचार गर्नेछ। त्यसै कारण पनि उनी लोकसेवा पढ्न हतारिएका छन्। तर, देउडा चटक्क नछाड्ने उनको प्रण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।