काठमाडौं- सातौं संस्करणको नेपालगञ्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन्।
किरणले निर्धारित दूरी दुई घण्टा २९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै विजेता बनेका हुन्। यता, सन्तोषीले एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा पूरा गरिन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पार्दै उपाधि जिते। यस्तै, १३औं सागकी स्वर्णपदक विजेता सन्तोषीले साविक विजेता पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जितेकी हुन्।
दोस्रो बनेका नरेन्द्रले दुई घण्टा ३३ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गरे। एपीएफका सन्तोष विक्रम विष्टले दुई घण्टा ३३ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै तेस्रो बने।
आर्मीका खडकबहादुर खड्काले दुई घण्टा ३३ मिनेट ४५ सेकेण्डमा दूरी पूरा गर्दै चौथो बने।
गत वर्ष पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी थिइन्। साविक विजेता पुष्पाले एक घण्टा १९ मिनेट १८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भइन्। तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले एक घण्टा ३६ मिनेट ३९ सेकेण्डमा पूरा गरिन्।
म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई आठ हजार र सातौंलाई सात हजार रुपैयाँ प्रदान गरिएको छ।
त्यसैगरी हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले आठ हजार, छैटौंले सात हजार र सातौंले छ हजार रुपैयाँ प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।