काठमाडौं- नेपालगञ्ज म्याराथनको पुरस्कार राशी वृद्धि गरिएको छ। मंसिर ४ गते हुन गइरहेको म्याराथन तथा हाफ म्याराथनमा शीर्ष ७ जनालाई नगद राशीबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।
म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५०, तृतीयलाई २५, चौथोलाई १५, पाँचौंलाई १०, छैटौंलाई ८ र सातौंलाई ७ हजार प्रदान गरिनेछ। हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१, दोस्रोले २५, तेस्रोले १५, चौथोले १०, पाँचौंले ८, छैटौंले ७ र सातौंले ६ हजार पाउनेछन्।
१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५, दोस्रोले १५ र तेस्रोले १० तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५, दोस्रोले १० र तेस्रोले ७ हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै गरी विद्यालय तहमा छात्र ५ किमीमा पहिलो हुनेले १०, दोस्रो हुनेले ७ र तेस्रो हुनेले ५ पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७, दोस्रोले ५ र तेस्रोले ३ हजार पाउनेछन्। ह्वीलचेयरतर्फ पहिलो हुनेले ७, दोस्रोले ५ र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन्।
नेपालगञ्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपी चोकमा पुगेर समापन हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन्।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए।
त्यस्तै, महिला हाफम्याराथनमा धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन्।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीकाबिचमा २०६३ मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिवार नेपालगंज म्याराथन आयोजना हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।