काठमाडौं- नेपालकी प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौं-एसियन यु-१४ र् याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा बुधबार पहिलो भएका छन्।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६–२ र ६–० सोझो सेटमा सहजै पराजित गरे। त्यसै, स्पर्धाको ब्वाइजमा नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ४–६ ६–३ र १०–२ को सेटमा हराउदै फाइनलमा प्रवेश गरे।
सुनिरा गल्र्स सिंगल्समा पनि फाइनलमा पुग्न सफल भइन्। सुनिराले नेपालकी शिभाली गुरुङमाथि ६–२ र ६–३ को जित दर्ता गरिन्। सोही स्पर्धामा नेपालकी इभा अधिकारीले समृद्धि महर्जनलाई ४–६, ६–२ र ६–४ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले नेपालका निश्चल कायश्थलाई ४–६, ६–३ र ७–५, नेपालका दर्शिल श्रेष्ठले नेपालका वृजेश अर्याललाई ४–६, ६–२ र ६–१ तथा नेपालका सक्षमविक्रम शाहले भारतका अमिर मुहम्मद खान मजारीलाई ६–४, ३–६ र ६–२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।