काठमाडौं- कोरोनाविरुद्धको खोप लगाएका खेलाडीले मात्र सहभागिता जनाउन पाउने अस्ट्रेलियन ओपनको पछिल्लो निर्णयको चर्को आलोचना रहेका छ। विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले गत वर्ष पनि अस्ट्रेलियाको कडा क्वारेन्टिन नियमको विरोध गरेका थिए।
नौं पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचले प्रतिबन्धात्मक व्यवस्थाका साथ गर्नुको साटो यसपाली प्रतियोगिता नै रद्ध गर्नुपर्ने बताइसकेका छन्।
साविक विजेता जोकोभिचले जनवरीमा मेलबर्नमा सुरु हुने वर्षको पहिलो ग्राण्डस्लाममा उपाधि रक्षाको प्रयास नगर्ने समेतको चर्चा चलेको छ।
अस्ट्रेलियाली खेलाडीमध्ये विश्व वरियताक्रमको सबैभन्दा माथि रहेका किर्जियोसले जोकोभिचलाई समर्थन गर्दै खोप अनिवार्य गर्नु नैतिक रुपमा गलत निर्णय हुने बताउँदै आसन्न अस्ट्रेलियन ओपन रद्ध गर्नुपर्ने बताएका छन्।
खेलाडी तथा समर्थकमाथि कडा प्रतिबन्धात्मक व्यवस्थाका साथ प्रतियोगिता गर्नुको कुनै अर्थ नरहने उनले बताए।
कोरोना महामारी नियन्त्रणको प्रयासमा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्नेमा सबैभन्दा कडा देखिएको अस्ट्रेलियामा भिक्टोरिया सरकारले यसपाली अस्ट्रेलियन ओपनमा सहभागिताका लागि खोप अनिवार्य गरेको छ।
'मेरो विचारमा कसैलाई खोप लगाउनका लागि दबाब दिनु नैतिक रुपमा गलत काम हो। मैले खोपको दुवै मात्रा लगाइसकेको छु। तर अरु कसैलाई खोप लगाउन दबाब दिन पाइन्न । त्यसैले मेरो विचारमा यो वर्ष अस्ट्रेलियन ओपन रद्ध गर्दा राम्रो हुन्छ,' किर्जियोसले भने।
२०१५ मा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्मको यात्रा गरेका विश्व वरियताक्रमको १३औं स्थानमा रहेका किर्जियोसले विश्वभर १०औं लाख समर्थक रहेका जोकोभिचजस्ता स्टारको भनाइमाथि प्रशासनले गम्भीरताका साथ ध्यान दिनुपर्ने विचार राखेका छन्।
फेडेररले नखेल्ने
पूर्व विश्वनम्बर एक रोजर फेडेररले अस्ट्रेलियन ओपन टेनिस नखेल्ने भएका छन्। घुँडाको चोटबाट पूर्ण रुपमा ठिक नभएको कारण स्विस स्टार फेडेररले अस्ट्रेलियन ओपन नखेल्ने भएका हुन्।
४० वर्षीय फेडेरर गत जुलाई विम्बल्डन टेनिस खेलेपछि कोर्ट उत्रिएका छैनन्। उनले ६ पटक अस्ट्रेलियन ओपन जितेका छन्।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१८ मा उपाधि जितेका थिए। अस्ट्रेलियन ओपन जनवरी १७ बाट सुरु हुँदैछ ।
'जनवरीमा दौड पुन: सुरु गर्न सक्षम हुनेछु र मार्च वा अप्रिलमा कोर्टमा प्रशिक्षणमा फर्कनेछु,' उनले भने।
उनले अघि भने, 'मैले धेरै धैर्य गर्नुपर्दछ र मेरो घुँडा निको हुन समय दिनुपर्छ। आगामी केही महिनाहरू महत्त्वपूर्ण हुनेछन्।'
राफेल नाडाल र नोभाक जोकोभिचसँगै फेडेरर पुरुष सिंगल्समा अहिलेसम्मकै सबैभन्दा सफल ग्राण्डस्लाम च्याम्पियन बन्ने दौडमा छन्।
उनका प्रशिक्षक इभान लुबिचिकले यस हप्ताको सुरुमा फेडेररले जनवरीमा मेलबर्न पार्कमा खेल्ने सम्भावना नरहेको बताएका थिए। उनी १०० प्रतिशत फिट हुन नसक्ने लुबिचिकले जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।