काठमाडौं- एपीएफका पुरन राई र नेपाल आर्मी ‘बी’का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरे।
उक्त तौल समूहमा नेपाल प्रहरीका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदी (वाकओभर), एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामी, कञ्चनपुरका रञ्जन भट्टले रामेछापका टल छन्त्याल, भाइबका तिलवीर पुन मगरले बाँकेका नितेश नेपाली (वाक ओभर), बक्समाण्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका शुलभ मालाकारलाई हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापाले आरडीएसका मार्सल गुरुङ, बीएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राई, आर्मीका विमल रोक्काले अल्फाका निराजन चौधरी, दाङका अनिल पुन मगरले बीटीएफसीका मौसम राना मगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निसान दासलाई पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे।
पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाक ओभर पाएर क्वार्टरफाइनलमा स्थान पक्का गरे।
महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वार्टरफाइनल पुगे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।