काठमाडौं- नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा विजयी भएका छन्।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे।
उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात कुमालले केवाइबीसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई हराए।
सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४८ केजीमा उदयपुरका लक्ष्मण राईले भीपीबीसीका दर्शन गुरुङ तथा चितवनका सरोज गुरुङले सुर्खेतका मोहन गुरुङलाई पाखा लगाए। पुरुष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरन्जिवी खड्काको चुनौती समाप्त पारे।
महिला ४८ केजीमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रिता धरलालाई पन्छाइन्। महिला ५१ केजीमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भीपीबीसीकी ओमन गुरुङलाई निराश पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।