काठमाडौं- विश्व कराते च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीले सहभागिता नजनाउने भएका छन्।
विश्व कराते महासंघको आयोजनामा दुबईमा १६ नोभेम्बरदेखि १९ सम्म हुने प्रतियोगितामा सुरुवातमा ८ खेलाडीले सहभागिता जनाउने भनिए पनि अहिले दुईजनाले मात्रै सहभागी हुन् लागेका हुन्।
च्याम्पियनसिपका लागि १३औं सागका स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठसहित अनु अधिकारी, मुकुन्द महर्जन, विप्लप लाज श्रेष्ठ, विजय श्रेष्ठ, दिवश श्रेष्ठ, नर्मला तामाङ र शेख आलमले नाम दर्ता गराएका थिए।
जसमध्ये, मोहमद र विजयले मात्रै सहभागिता जनाउने नेपाल कराते महासंघले जनाएको छ।
मण्डेकाजीका अनुसार प्रतियोगितामा सहभागी हुन ८ जनाको नाम दर्ता गरेपनि आफ्नो ‘रिस्क’मा जान संघले भनेको थियो।
‘त्यहाँ गएर खेल्न पाउने या नपाउने टुंगो भएन र यदि ब्यक्तिगत चुनौती लिएर गएको खण्डमा महासंघलाई केही भन्न नपाउने संघका पदाधिकारीले बताएपछि हामी गएनौं,’ उनले नेपाल लाइभसँग भने।
नेपालबाट महिला ५५ केजी तौल समुहमा सागकी स्वर्णपदकधारी अनु, पुरुष ७५ केजी मुनीको तौल समूहमा मोहम्मद, पुरुष ६७ केजी मुनीको तौल समुहमा मुकुन्द, पुरुष ६० केजी मुनीको तौल समूहमा विजय श्रेष्ठ, ८४ केजी माथिको तौल समूहमा विप्लपलाल श्रेष्ठ, ८४ केजी मुनीको तौल समूहमा दिवस श्रेष्ठ थिए ।
यस्तै, कातामा पुरुषतर्फ मण्डेकाजी, महिलामा निर्मलाको नाम थियो ।
‘सबै खेलाडीको नाम च्याम्पियनसिपमा दर्ता गरेर भिषा आइसकेको थियो। हामी आफ्नो खर्चमा जान तयार थियौं। त्यहाँ गएर खेल्न पाउने सुनिश्चित हुनुपर्यो, त्यो महासंघले गर्न नसकेपछि कसरी जाने? यहाँबाट खर्च गरेर गयो, त्यहाँ गएर खेल्न नपाए त्यसको भरपाई कसले गर्ने?,’ उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।