काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै महाधिवेशन हुनेमा विश्वस्त भएको थापाले बताए।
सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन्।
उनले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताए। नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयीकरणको प्रमाण भएको बताए। उनले नेपाली कांग्रेसका नेताहरु पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको पनि बताए।
नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा कांग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए। नेता थापाले नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा मतदाता र आम जनता खुशी हुने गरी गर्नुपर्ने पनि बताए।
नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके कांग्रेस अबको निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।