काठमाडौं- नेपाली कांग्रेसले पार्टीको नीति महाधिवेशन छुट्टै गर्ने भएको छ। पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको तहमा सर्वसम्मत प्रस्तावित भएको यो विषयलाई केन्द्रीय कार्यसमितिले पनि अनुमोदन गर्ने र सोही अनुसार नीति महाधिवेशन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकको सन्दर्भमा पत्रकारहरुलाई जानकारी दिँदै प्रवक्ता शर्माले कांग्रेसको महाधिवेशन हुँदै गर्दा धेरैको चासो नेतृत्व चयनमा केन्द्रित हुने गरेको बताए। यद्यपि, हरेक महाधिवेशनहरुमा आफूहरुले लिखित रुपमा पार्टीको नीतिको कार्यक्रमको विविध दस्तावेजहरु पेस हुने र पास गर्ने गरेको उनको भनाइ थियो। 'त्यसैले नेपाली कांग्रेसको आज बसेको बैठकमा पार्टीले नीतिको अधिवेशन र नेतृत्व चयनको अधिवेशन फरक गर्ने विषय प्रस्तावित भएको छ,' उनले भने।
प्रवक्ता शर्माका अनुसार, १४औं महाधिवेशनदेखि महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनको रुपमा लिएर जाने र त्यसपछाडि महाधिवेशनले अधिकार प्रत्यायोजन गरेर नयाँ आउने केन्द्रीय कार्यसमितिले नीति र कार्यक्रमको सन्दर्भमा अर्को अधिवेशन गर्नेछ। त्यसबाट पार्टीको नीति र कार्यक्रमको विषयलाई निर्धारण गरिनेछ।
कांग्रेसले यही मङ्सिर २४ देखि २६ सम्म १४औं महाधिवेशन आयोजना गर्दै छ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि यसैपटकदेखि विधान महाधिवेशनलाई छुट्टै आयोजना गरेको थियो। गत असोज १५ देखि १७ सम्म आयोजित एमालेको विधान महाधिवेशनले पार्टीको विभिन्न दस्तावेज पारित गरेको छ। उक्त पार्टीले मङ्सिर १० देखि १२ सम्म १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।