काठमाडौं- नेपाली कांग्रेसले आसन्न महाधिवेशनमा उद्घाटनको भोलिपल्टै मतदान गर्ने तयारी गरेको छ।
कांग्रेसले १४औं महाधिवेशनको मिति (२४-२६ मंसिर) यसअघि नै तय गरिसकेको छ। कांग्रेसका एक नेताका अनुसार मंसिर २४ गते महाधिवेशनको उद्घााटन गरेर २५ गते नै मतदान गर्ने तयारी भइरहेको छ।
कांग्रेसको विधान र नीतिबारे पछि छुट्टै भेला गर्ने तर यसपटक महाधिवेशन नलम्ब्याउने ती नेताले बताए।
यसैबीच, नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि सात जना नेताहरूले संयोजन गर्ने भएका छन्।
कांग्रेसका एक नेताका अनुसार महाधिवेशन समन्वयका लागि प्रदेश १ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह र गण्डकीमा गोपालमान श्रेष्ठले संयोजन गर्नेछन्।
यस्तै, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र प्रसाद बडूले संयोजन गर्नेछन्। यस्तै, आवास तथा भौतिक व्यवस्थापन संयोजनको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई शीर्ष तहमा सहमति भएको छ।
शीर्ष नेताहरूबीच भएको सहमतिलाई आजको केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने एक नेताले बताए। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले सभापति शेबहादुर देउवानिवाल बूढानीलकण्ठमा बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।